काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले एमबिबिएस प्रवेश परिक्षामा रौतहटका दुई बिद्यार्थी नेपालमै पहिलो र दोस्रो स्थान ल्याएपछि उच्चसम्मान गरेका छन् ।
नेपाल सरकारले हालै प्रकाशित गरेको नतिजा अनुसार रौतहटको यमुनामाई गाउँपालिका वडा नं.१ जेठरहिया गाउँका अनिषराज प्रजापति र माधवनारायण नगरपालिकाको फुलवरिया गाउँका मधुसुदन प्रसाद साह नेपालमै क्रमश पहिलो र दोस्रो स्थान ल्याएका छन् ।
शिक्षा मन्त्रालयद्वारा प्रकाशित नतिजा अनुसार प्रजापतिले १७८ अंक प्राप्त गर्दै नेपालमै पहिलो स्थानमा र साहले १७५.५ अंक ल्याएर दोस्रो स्थानमा ल्याएका छन् । यी दुई युवा विद्यार्थीले मात्र आफ्नो जिल्लाको गौरव बढाएका छैनन्, साथै देशभर रौतहटको शैक्षिक प्रतिष्ठालाई उच्च बनाएका छन्।
उनीहरूको यस असाधारण सफलताका लागि आजपा अध्यक्ष साहले विशेष सम्मान कार्यक्रम आयोजना गरेर दुबै विद्यार्थीलाई सम्मान गरेका छन् । अध्यक्ष साहले आफ्नो निजी निवासमा आयोजना गरेको सम्मान कार्यक्रममा दुबै विद्यार्थीलाई माला, टिका र दोसल्लाह ओढाई सम्मान गरेका छन् ।
सम्मान कार्यक्रममा साहले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै भने, ‘तपाईंहरूको सफलता सम्पूर्ण जिल्लाका लागि गर्वको विषय हो । तपाईंहरूले हासिल गरेको यो उपलब्धि अन्य विद्यार्थीहरूको लागि प्रेरणादायी छ ।’ उनले जिल्लामा शिक्षाको सुधारका लागि निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाको महत्वमा जोड दिएका छन् ।
‘रौतहटका यी दुई विद्यार्थीको सफलताले जिल्लामा शिक्षा क्षेत्रको लागि नयाँ ढोका खोलेको छ । जिल्लामा शिक्षा क्षेत्रमा पछाडि परेको मान्यता तोड्दै यस्ता विद्यार्थीहरूले देखाएको साहस, मेहनत, र उच्च मनोबलले धेरैलाई उत्साहित गरेको छ । शिक्षाविद्हरूका अनुसार, यस्तो उपलब्धिले जिल्लामा शैक्षिक सुधारका लागि नयाँ दिशा निर्देशन गर्न सहयोग गर्नेछ’ उनले भने ।
अनिषराज प्रजापति र मधुसुदन प्रसाद साहको सफलताले रौतहटको प्रतिष्ठा उच्च बनाउँनुका साथै नेपालका सम्पूर्णण विद्यार्थीहरूको लागि नयाँ उदाहरण प्रस्तुत गरेको छ । उनीहरूको उपलब्धिलाई रौतहटबासीले गर्वको साथ स्मरण गर्दै अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गर्ने आशा व्यक्त गरिएको छ ।
सो सम्मान समारोहमा शिक्षाको महत्वबारे विशेष जोड दिइएको थियो । पूर्व मन्त्री साहले जिल्लामा शिक्षा सुधारका लागि अझ बढी कार्यक्रम र परियोजना सञ्चालन गर्ने घोषणा गर्दै भने, ‘हाम्रो जिम्मेवारी छ कि हाम्रा भावी पुस्तालाई शिक्षित र सशक्त बनाउने प्रयासमा कुनै कमी नगर्नु । हाम्रो जिल्लाको यो सफलता देशभरका सबै जिल्लाहरूका लागि उदाहरण बन्नेछ ।’
रौतहट जिल्ला, जो परम्परागत रूपमा शिक्षामा कमजोर मानिन्थ्यो, यस्ता नतिजा ल्याउनु भनेको भविष्यका लागि ठूलो सम्भावना भएको विश्लेषण गरिएको छ । शिक्षाविद्धहरूले यो उपलब्धिलाई रौतहटको शिक्षा क्षेत्रमा एक ऐतिहासिक उपलब्धिको रूपमा हेरिरहेका छन् । यस नतिजाले जिल्लाको शिक्षा प्रतिको नकारात्मक धारणालाई परिवर्तन गर्न मद्दत पुर्याएको छ ।