वीरगंज/स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजले चार दिन देखि नियमित रुपमा वीरगंजका विभिन्न ७ वटा सामुदायिक विद्यालयहरुमा स्थलगत अनुगमन गरेको छ।
सो क्रममा विद्यालयहरुले बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिइने खाजाको विषयमा समाजको गम्भिर ध्यानाकर्षण भएको हुँदा अनुगमनलाई तीव्रता प्रदान गरेको स्वतन्त्र मानव अधिकार समाजले जनाएको छ ।
अनुगमनका क्रममा श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवाले २०८१ साउन महिना देखि २०८१ भदौ १४ गते सम्ममा बालबालिकाहरुलाई प्रदान गर्नु पर्ने नास्ता वितरण नगरेको अवस्थामा श्री नेपाल रेल्वे माध्यमिक विद्यालयले, भने भदौ ९ गते देखि १४ गतेसम्म नास्ता वितरण नगरेको अवस्था कायमै रहेको छ। त्यसैगरी श्री ताराचन्द किशनलाल आधारभूत विद्यालयमा भदौ ९ गते देखि ११ गते सम्म नास्ता वितरण नगरिएको र १२ गते विस्कुट वितरण गरिएको थियो। अनुगमनका क्रममा श्री त्रिभूवन हनुमान माध्यमिक विद्यालय र श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यमिक विद्यालय एवम् जे पि चर्तुबेदी स्कूलमा भने नास्ताको नियमित रुपमा वितरण गरिएको पाईएको छ।
खाजाका सम्बन्धमा बीरगंज महानगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयहरुलाई प्रति विद्यार्थी रु १५ का दरले नास्ताको रकम प्रदान गर्दै आईरहेको अवस्थामा विद्यालयहरुले मनलागे नास्ता दिने, नलागे नास्ता नदिने उजुरी स्वतन्त्र मानव अधिकार समाजको कार्यालयमा आएपछि समाजले अनुगमनलाई तिव्रता प्रदान गरेको र आउँदा दिनहरुमा पनि समाजले बाँकी अन्य सामुदायिक विद्यालयहरुमा अनुगमन गर्दै जाने नै छ।
सोहि प्रकार समाजले वीरगंज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच विषयमा समेत स्थलगत रुपमा निरिक्षण गरेको छ। उक्त अवसरमा सामान्य रुपमा पनि घरायसी सामानहरुमा भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो हस्तक्षेप भएको ठम्मयाइ समाजले पाएको छ। चर्को घाममा नागरिकहरुसंग गरिनु पर्ने व्यवहारमा कठोरता नभइ सहजताका रुपमा सशस्त्र प्रहरीहरु प्रस्तुत हुनु पर्ने समाजको आग्रह रहेको छ । चेकजाँचको नाउँमा नागरिकहरुलाई अनाहक ढंगले दुःख नदिई सहजताको साथ गरिदिन समाजले अनुरोध गरेको छ।
यसरी अनुगमन टोलीमा समाजका सभापति कृष्ण कुमार खनालको नेतृत्वमा, उपसभापति नन्दि किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष मिश्रा, कोषाध्यक्ष उर्मिला कुशवाहा, सहकोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्यद्वय सोनालाल गुप्ता तथा विक्की सिंह रहेका थिए।