वीरगंज/ भारतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगंज-रक्सौल बोर्डर स्थित मितेरी पुलमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अस्थायी कैम्प अब स्थायी रुपमा संचालन हुने भएको छ।
गत असोज तीन गतेबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रक्सौल दशगजा क्षेत्र मितेरी पुलमैं कैम्प खड़ा गरेर सो सीमा क्षेत्रबाट ओहोर दोहोर गर्ने आगन्तुकहरूलाई चेक जाँचको बहानामा अनेक सास्ती दिँदै आएका थिए।पाल टाँगेर बसेका एसएसबीको टोली आइतवारबाट एकाएक मितेरी पुलबाट हटेपछि केहि भारत परस्त चाटुकारहरूले आफ्नो पहलमा सो कैम्प हटाइएको दाबी गरेपनि केहि समय भित्र सो कैम्प पुनः संचालनमा आउने स्रोतले जनाएको छ।स्रोतका अनुसार हाल रक्सौल कस्टम कार्यालय रहेको स्थानमा एसएसबीको स्थायी कैम्प स्थापना हुन लागेको छ भने कस्टम कार्यालय ड्राईपोर्ट तिर सार्न लागिएको छ।
भन्नलाई नेपालको मित्रराष्ट्र भनिएपनि भारतसँग सीमा जोडिएका क्षेत्रमा रहेका एसएसबीले सो क्षेत्रबाट ओहोर दोहोर गर्ने नेपाली बृद्ध, बाबालिकालगायत आगन्तुकसँग सुरक्षा चेकजाँचको बहानामा अपराधी जस्तो दूर्व्यव्हार गर्ने गरेको पाइन्छ।

रौतहटको गौर-बैरगनियाँ नाका, सर्लाहीको मलंगवा/त्रिभुवननगर-सोनबरसा नाका, फेनहरा – मुरहा नाका, महोत्तरीको मटिहानी-मधवापुर नाका, जलेश्वर-भिट्ठामोड नाका, सप्तरीको भारदर-समसी नाका, धनुषाको जटही-फूलहर नाका, तुलसीयाही-माधवापुर नाका,सिरहाको ठोडी-लौकाहा नाका, माडर-जयनगर नाका, केनुवापट्टी -सोनबरसा नाका लगायतमा ओहोर दोहोर गर्ने नागरिकहरूसँग भारतीय सीमा सुरक्षा बलले भारत पाकिस्तान नाका भन्दा बढ़ी केरकार र तनाव दिने गरेको सर्वसाधारणहरू बताउँछन्। यी सीमा क्षेत्रमा बृद्ध देखि महिला सम्मलाई सवारी साधनबाट तल झारेर पाँच सय मीटर पैदल हिँड्न लगाउने गरेका छन्।
मधेश प्रदेशको वीरगंज महानगरमा रहेको भारतको महावाणिज्य दूतावासले बोर्डर क्षेत्रका नेपाली नागरिकहरू सँग भैरहेको दूर्व्यहार र यातना विरुद्ध बोल्दैनन्, नेपालसंग सीमा जोड़िएका भारतको बजारमा नेपाली युवाहरूलाई खुल्लेयाम लागु औषध बिक्री वितरण गर्दा भारतीय महावाणिज्य दूतावास चुइंक्क बोल्दैन तर यस क्षेत्रमा हुने राजनीतिक घटनाक्रममा चलखेल गर्न विभिन्न जासूस परिचालन समेत गरेको पाइन्छ।
जतिबेला पनि रोटीबेटी र मित्रबत सम्बन्धको दुहाई दिने भारतले सीमावर्ती क्षेत्रमा अन्य जिल्ला र नाकापछि वीरगंज बोर्डर जोड़िएको रक्सौल कस्टममैं अब निकट समयमैं राख्ने कैम्पले नेपाली जनताले थप सास्ती भोग्नु पर्ने समय आउँदै छ।
अन्तर्राष्ट्रिय सन्धिअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा दशगजा क्षेत्रमा कुनै पनि किसिमको चेक पोस्ट स्थापना गर्न नपाईने भएपनि भारतसँग सीमा जोड़िएका क्षेत्रमा भारतले बल मिच्याईपूर्वक एसएसबी कैम्प राख्दै आएको छ।
















