२०८३ बैशाख ९ गते, बुधबार १६:२३

अराजकता फैलाउने छुट कसैलाई छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने गुनासो गरेका छन्।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताए।

संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड थियो।

उनले भने, ‘अहिले जुन प्रकारको गतिविधि गर्न खोजिएको छ, त्यसलाई व्यवस्थामाथि नै ठूलो चुनौतीका रूपमा लिएका छैनौं।’

संविधान र लोकतान्त्रिक पद्धतिलाई रक्षा गर्नका लागि अझै गम्भीरतापूर्वक सरकार लागिपर्ने उनको भनाइ छ।

मन्त्री श्रेष्ठले भने, ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौं। एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो।’

अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले थपे, ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ। त्यो कुरा सत्य होइन। हामी नियमन गर्छाैँ।’

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM