२०८३ बैशाख २८ गते, सोमबार १८:४९

भारतद्वारा नेपालकालागि चामल निर्यात फुकुवा

वीरगंज/भारतले नेपाललाई परिणाम तोकेर चामल निर्यात फुकुवा गरेको छ।

भारतको वाणिज्य विभागले बुधबार जारी गरेको सूचनामा ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति दिइएको उल्लेख छ। भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडको माध्यमबाट यस्तो निर्यात हुनेछ।

भारतले गत साउनको पहिलो साता बासमती बाहेकका चामलको निर्यातलाई रोक लगाउने घोषणा गरेको थियो। खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप चामल निर्यातमा प्रतिबन्धको घोषणा गरेको भारतले जनाएको थियो।

भारतले चामल निर्यातको घोषणा गरेसँगै नेपालमा चामलको मूल्य बढ्न पुगेको थियो। नेपालले भारतबाट ठूलो परिमाणमा धानचामल आयात गर्दै आएको छ।

नेपाल सरकारले पत्र लेखेर भारत सरकारसँग चामल निर्यातको फुकुवाका लागि अनुरोध गरेको थियो। नेपालले एक लाख मेट्रिक टन चामल आयातको अनुमति दिन माग गरेको थियो। भारतले ९५ हजार मेट्रिक टन चामल निर्यातका लागि फुकुवा गरिदिएको हो।

भारतले नेपाल सहित क्यामरुन, आइभरी कोस्ट, मलेशिया, फिलिपिन्स लगायत देशका लागि कोटा तोकेर चामल निर्यात फुकुवा गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM