२०८३ बैशाख ८ गते, मंगलवार ०५:३८

कीर्तिपुरमा ‘पुरुषोत्तम मेला’ सुरु

काठमाडाैं । अतिरिक्त महिना मलमास आज (मङ्गलवार)बाट सुरु भई साउन ३१ मा समापन हुँदैछ । हरेक मलमासमा जस्तै कीर्तिपुरको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।

राजधानी काठमाडौँबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजनहरू भक्तजनहरू आउने गर्दछन् ।

पोखरीले घेरिएको उक्त मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ । कीर्तिपुर, कलङ्कीको तिन थाना र थानकोट लगायतका नाका करिब ३, ४ किलोमिटर दुरीमा रहेको मन्दिर १७ सय वर्षअघि निर्माण भएको र ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिरका पुजारी शैलेश आचार्यले जानकारी दिनुभयो।

मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा- पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ । यस महिनामा नारायणको पूजा गर्नाले पाप नाश हुने जनविश्वास रहेकोले भक्तजनले सो विश्वासका साथ नजिकैको पोखरीमा स्नान पनि गर्ने गरेको पुजारी आचार्यले बताउनुभयो ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ ।

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् ।

मन्दिर घण्टा आकारको पौराणिक तथा कलात्मक शिखर शैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रूपको मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतसहित गरुढ हनुमान र दुवै छेउमा शिवको लिङ्ग छ ।

पोखरी अगाडि जलाशयमा मत्स्य कुण्ड अवस्थित शिव लिङ्ग छ । मन्दिर भित्र पाञ्चायन देवता र अन्य विष्णुका रूपहरू रहेका छन् । पौराणिक शङ्ख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुङ्गाको मूर्ति छन् ।

मेला व्यवस्थापन समितिका संयोजक एवम् चन्द्रागिरि नगरपालिका–९ का वडाध्यक्ष अच्युत अधिकारीले मेला अवधिभर भगवानको पूजा–आराधना गर्न र चन्द्रागिरि वन नजिकै विकास भएको पदमार्गको लाभ लिन सबै भक्तजनलाई अपिल गर्नुभयो ।

अधिकारीले मेला शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी पूरा गरेको र एक महिनामा करिब २० लाख भक्तजनले मन्दिरमा दर्शन गर्ने अपेक्षा गरिएको छ

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM