-कृष्णसिंह लाेथ्याल/
काठमाडाैं/उदयपुरकी १५ वर्षीया बालिका सीमा राई (नाम परिवर्तन) एसईई परीक्षा दिएर फुर्सदमा थिइन् । नतिजाको प्रतीक्षामा रहेकी सीमा घुम्ने र आफन्त भेट्ने उद्देश्यले जेठ दोस्रो साता काठमाडौं आइन् ।
एसईईको नतिजा बिहीबार सार्वजनिक भएको छ । तर, सीमालाई नतिजाको खुसी साट्ने बेला न्यायका लागि उभिनुपर्ने बाध्यता आइपर्यो । फेसबुकमा चिनेकी दिदीको भरपर्दा उनले अकल्पनीय घटनाको सामना गर्नुपर्यो ।
एक साता आफन्तको घरमा बसेर घर फर्किन लागेकी सीमालाई ठमेलस्थित चर्चित एलओडी क्बलबारे सामाजिक सञ्जालमार्फत केही जानकारी थियाे । तर, उनले क्लब कसरी जाने भन्ने भेउ भने पाएकी थिइनन् । आफन्तको घरमा बस्न आएकी उनलाई आफन्तसँगै क्लब जाउँ भन्ने आँट पनि थिएन ।
उनको फेसबुकमा जाेडिएकी एक युवतीले क्लबको रमझमको फोटो फेसबुकमा राख्ने गरेकी थिइन् । अनि, सीमाकाे तिनै युवतीसँग फेसबुक म्यासेन्जरमा कुरा भयो । केही दिनमै घर फर्किन लागेकी सीमाले ती युवतीसँग एलओडी जाने इच्छा व्यक्त गरिन् । फेसबुक म्यासेन्जरमा कुरा भएकै साँझ (३१ जेठ) मा क्लब जाने निर्णय गरिन् ।
फोन नम्बरसमेत साटासाट नगरेकी सीमा ती युवतीसँग म्यासेन्जरमा भएकै कुराकानीका आधारमा एलओडी पुगिन् । उनीहरू क्लबभित्र छिर्दा पोखराका ५० वर्षीय सुदनबहादुर कोइरालासहितकाे समूह मादक पदार्थ सेवन गरिरहेकाे थियाे ।
क्लबमा नाच्दै झुम्दै गरेका उनीहरूसँग सीमा र उनीसँगै गएकी युवतीको केही समयमै चिनजान भयाे । केही समय उनीहरूले सँगै बसेर क्लबभित्रै ड्रिङ्ससमेत गरेको सीसीटीभी फुटेजमा देखिन्छ । सीमासहित कोइराला बसेकै बेला उनीसँगै क्लब पुगेकी युवती भने एकाएक सम्पर्कविहीन भइन् । त्यतिबेलासम्म रातिको १ बजिसकेको थियो ।
आफूसँगै गएकी युवती सम्पर्कमा नआएपछि सीमाले काेइरालालाई खोजी दिन आग्रह गरिन् । तर, मोबाइल नम्बरसमेत नभएपछि उनीहरूले ती युवतीलाई भेट्न सकेनन् । कोइरालाले सीमालाई अब घर फर्किने र दिदीसँग ललितपुरमा भेटिने आश्वासन दिए । कोइरालाको कुरा पत्याएकी सीमासहित केही युवा कोइरालाकै गाडीमा ललितपुर फर्किए ।
ललितपुर पुग्दा पनि ती युवती नभेटिएपछि सीमाले आफूलाई आफन्तको घर कोटेश्वर पुर्याइदिन आग्रह गरिन् । तर, कोइरालाले राति धेरै हिँड्नुभन्दा आफ्नै अफिस बखुन्डोलमा बस्ने सुविधा रहेका कारण त्यही सुत्दा पनि केही नहुने बताए । उनीहरू कोइरालाको आईटीसम्बन्धी खोलिएको अफिसमा पुगे । कोइरालासँग अरु युवाहरू पनि थिए ।
अफिस पुगेपछि कोइरालाले सीमालाई एउटा काेठामा राखे । आफू अर्कै काेठामा सुत्न गए भने आफूसँगै रहेका अन्य युवाहरूलाई अर्को काेठामा सुत्ने व्यवस्था मिलाए । अन्य युवाहरू सुतेपछि भने कोइराला एकाएक सीमाको कोठामा प्रवेश गरे र उनलाई याैन सम्पर्कका लागि दबाब दिए । सीमाले अस्वीकार गरिन् । याैन सम्पर्ककाे प्रस्ताव नमानेपछि कोइरालाले उनकाे गालामा थप्पड हानेर जबर्जस्ती करणी गरे । सीमा चिच्याएर रुन थालिन् ।
सीमाको चिच्याहटपछि फसिने डरले कोइराला भागे । उनीसँगै अफिस पुगेका अरु युवाहरू पनि भागे । सीमाले भने आफ्नी दिदीलाई फोन गरेर आफू बलात्कृत भएको खबर सुनाइन् । त्यतिबेला रातिको २ बजेको थियो ।
सीमाकी दिदीले राति नै १०० नम्बरमा फोन गरेर प्रहरीलाई खबर गरिन् । ललितपुर प्रहरीले सीमालाई बखुन्डोलबाट राति नै उद्दार गर्याे । सीमालाई क्लब पुर्याउने युवतीकाे पनि प्रहरीले खाेजी गरिरहेकाे छ । उनकाे पहिचान खुलेकाे छैन ।
आरोपीसहित क्लब सञ्चालक पक्राउ
प्रहरीले सीमालाई बलात्कार गरेकाे आरोपमा पोखराका सुदनबहादुर कोइरालालाई पक्राउ गरेर जबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।
कोइरालाबाहेक ललितपुर प्रहरीले बालिगका लागि खोलिएको क्बलमा नाबालिका प्रवेश गराएको अभियोगमा क्बलका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवाललाई समेत पक्राउ गरेको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई बुझाएको छ । साभारः शिलापत्र