Tuesday, November 26, 2024
घरक्राइम चेकसरुवा भएका घुमुवाको सेटिङमा तस्करी

सरुवा भएका घुमुवाको सेटिङमा तस्करी

काठमाडौं । अर्थतन्त्र संकटग्रस्त छ । राजस्व लक्ष्यअनुसार असुली हुन सकेको छैन । जसका कारण विकास खर्च कटौती गर्नुपरेको छ । नेपालको अर्थतन्त्रमा भन्सार राजस्वको महत्वपूर्ण योगदान छ । तर देशका २१ वटा भन्सार नाकाबाट भन्सार छलीका माध्यमबाट सामान भित्रदा राजस्व असुलीमै असर परेको छ ।

भन्सार कार्यालय, सीमामा तस्करी रोक्न तैनाथ सशस्त्र प्रहरीकै सेटिङमा भन्सार छलीका माध्यमबाट सामान भित्रदा राजस्व असुलीमा असर परेको छ । ब्यापारीहरुले भन्सार छली तस्करीका माध्ययमबाट सामान भित्र्याउने नाकामा धनुषा पनि मुख्य हो । धनुषाको पश्चिमी क्षेत्रमा पर्ने मुखियापट्टी मुसहर्निया नाकाबाट सुरेश साह, बिन्देश्वर नायक र शिबकुमारसहित मिलेर लत्ताकपडा, ड्रोन क्यामरा, बिहारमा प्रतिबन्धित रक्सीको तस्करी गर्दैआएका छन् । उनीहरुले अबैध हुन्डी कारोबार गर्ने गरेका छन् । सुन समेत तस्करी गर्ने गरेको आरोप उनीहरुमाथि छ ।

सुरेश साह, बिन्देश्वर नायक र शिबकुमारले भारतबाट तस्करी गरी भित्र्याएको सामान मुखियापट्टी मुसहर्नियाबाट जनकपुरको माछाबजार हुँदै आफ्नो घर मिथिला बिहारी गाउँपालिका ३ स्थित तारापट्टिमा रहेको गोदाममा राख्ने गरेका छन् । तारापट्टिको गोदाममा लोड गरी लिलामीको सामानको कागजात भन्सार कार्यालय जनकपुरबाट बनाएर काठमाडौंसम्म निर्वाध पुर्याउने गरिएको छ ।

भन्सार कार्यालय जनकपुरका प्रमुख केशवराज ओलीको मिलोमतोमा लिलामी बापत लिएको सरसमानको कागज बनाई काठमाडौंसम्म पठाउने गरिएको छ । मुखियापट्टि नाकाबाट भन्सारछली तस्करी गर्नेहरुमा उमेश साह, शिवकुमार, बिन्देश्वर नायक, फेकन साह, सुरेश साह मुख्य हुन् । उनीहरुले महिनाको करिब ४०-४२ लाख रुपैयाँ प्रहरी र भन्सार कार्यालयका कर्मचारीलाई बुझाउने गरेको स्रोत बताउँछ ।

मुखियापट्टि नाकाबाट अत्यधिक तस्करी बढ्न थालेको र देशको आर्थिक अवस्था नाजुक रहेकोे बेला भन्सार लक्ष्य पूरा हुन नसकेपछि सीमामा हुने अबैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने मुख्य जिम्मेवार निकाय सशस्त्र प्रहरी निकै दबाबमा छ । सशस्त्रले दवाबमा आएर जेठ १७ गत्ते मुखियापट्टिबाट तस्करी भई तारापट्टि जान लागेको ना १ झ १०७७ नम्बरको पिकअप भ्यान पक्राउ गरी भन्सार कार्यालय जनकपुरमा बुझाएको थियो । भ्यानमा भन्सार छलीका जुत्ता चप्पल र केही कपडाहरु समेत थिए ।

यता समान बरामद भएपछि सशस्त्र प्रहरीले राखेको लक्ष्य पूरा हुन नसकेको भन्दै आफूहरुलाई दबाब दिएका कारण सो मालसामान जानीजानी बरामद गर्न दिएको तस्करीमा संलग्न सुरेश साह र बिन्देश्वरले नै भन्ने गरेका छन् ।

सुरेश साह र विन्देश्वरको समूहलाई भन्सार छली तस्करीमा सहयोग गर्ने काम विगत १२ बर्षदेखि सशस्त्र प्रहरीका एक हवल्दारले गर्ने गरेका छन् । भन्सार गुल्म जनकपुरमा १२ बर्षदेखि कार्यरत रहेका सशस्त्र प्रहरीका घुमुवा दिपेश सिंहकै सेटिङमा यो समूहले भन्सार कार्यालयका सामान लिलामी गर्दै आएको छ । नारद गौतम भन्सार प्रमुख हुँदादेखि नै यो समूहले लिलामीका सामान दिपेश सिंहको सेटिङमा पाउने गरेको छ । स्रोतका अनुसार टेण्डरमा समेत सेटिङ गरी अरु ब्यापारीलाई नदिई साह र नायकले नै पाउनुमा घुमुवा दिपेश नै हुन् । त्यही लिलामीको पत्र देखाएर तस्करीका सामान काठमाडौंमा ल्याउने गरिएको छ ।

सशस्त्र प्रहरी बलको आइजीपीमा राजु अर्याल नियुक्ति भएपछि घुमुवा राख्न बन्देज लगाई बदनामहरुलाई गणमा तानिएको थियो । घुमुवा हटाउने अभियानअन्तर्गत भन्सार कार्यालय जनकपुरका दिपेश सिंहलाई सशस्त्र प्रहरी बल विपत उद्धार गण त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा तानिएको थियो । उनको दरबन्दी विपत उद्धार गण हो, तर उनी महिनामा कम्तीमा १ पटक बिदा लिएर जनकपुरमा गई सुरेश साह र बिन्देश्वरको समूहको तस्करीको सेटिङ गर्नेदेखि भन्सारको लिलामको काम समेत फत्ते गर्ने गर्दछन् । अहिले पनि दिपेश सिंह सुरेश साह र नायककै सेटिङका लागि जनकपुरमै छन् ।

सशस्त्र प्रहरीमा जरुरी भएमात्र ३ महिनामा एकपटक बिदा छाड्ने ब्यवस्था छ । तर विपत उद्धार गणका एसपी पूर्ण साउदले उनलाई महिनामा २ पटकसम्म बिदा छाड्ने गरेका छन् । एसपी साउदलाई कोसेलीपात बुझाएर खुसी बनाएकाले उनलाई जतिबेला पनि बिदा छाड्ने गरिएको छ ।

सशस्त्र प्रहरीका जनकपुर भन्सार गुल्मका इन्स्पेक्टर जयबहादुर दत्तेपुत्तेलाई पनि घुमुवा दिपेश सिंहले चित्त बुझाउने गरेका छन् । १२-१५ बर्षदेखि धनुषाकै भन्सारस्थित गुल्ममा घुमुवा रहेका दिपेशलाई सबै तस्करीको संजालको जानकारी भएकाले दत्तेपुत्तेले पनि उनको काममा साथ दिएका छन् ।

काम सधैं तस्करी, अकूत सम्पत्ति

सशस्त्रका घुुमुवा दिपेश सिंह दर्जाले तल्लो पदमा छन् । तर उनले सेवाप्रवेशपछि गरेको कमाइ देखेर उनका आफन्तहरु नै चकित छन् । उनको जनकपुरमा ४ ठाउँमा घरघडेरी छन् ।

जनकपुरबाट तस्करीको सामान भित्र्याउनेमा बिन्देश्वर नायक अग्रपंक्तिमा पर्दछन् । मुखियापट्टि नाकाबाट तस्करी गर्नेमा पनि उनकै नाम आउँछ । तस्करीमा बदनाम बिन्देश्वरले नेपाल र भारत दुबै देशका नागरिकता लिएका छन् । स्रोतका अनुसार तस्करीकै कमाईले काठमाडौमा ३ वटा घर र एक ठाउँमा जग्गा किनेका छन् ।

त्यस्तै जनकपुरमा पनि २ ठाउँमा घर र ५–६ ठाउँमा जग्गा किनेका छन् । पैत्रिक गाउँ महोत्तरीको मटिहानीमा पनि नायकले ९ बिगाहा जति जग्गा खरिद गरेका छन् ।

प्रहरी चौकी फुलगामाका बरिस्ठ सई रुद्र श्रेष्ठले सुरक्षा दिई तस्करीमा सघाउने गरेका छन् । अझ कतिपय सामान स्कर्टिङ गरेर पार गराउन प्रहरी नै परिचालन गर्ने गरेको आरोप सई श्रेष्ठमाथि लाग्ने गरेको छ । तस्करीमा आँखा चिम्लिएबापत सई श्रेष्ठ हुँदै माथिसम्म पुग्ने गरेको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट इनर्वा धनुषाका इन्स्पेक्टर रामहरि खड्काले पनि तस्करीको लाइन दिएका छन् । इनर्वा नाकाबाट सबैभन्दा बढी मदिरा भारततर्फ तस्करी हुने गरेको छ । भारतबाट नेपालतर्फ कपडा, हार्डवेयर सामानजस्ता सामान तस्करी हुने गरेको छ । भारतको बिहारमा मदिरा निषेध गरिएकाले नेपालको सीमा क्षेत्रबाट मदिरा तस्करीको माध्यमबाट भारत जाने गरेको छ । मदिराका कारोबारीले इन्स्पेक्टर खड्कालाई मासिक दररेट बुझाएर तस्करी गर्ने गरेका छन् । मासिक १० देखि १२ लाख मदिरा तस्करीको दस्तुरी लिने गरेको आरोप उनीमाथि छ । – नेपाल फेसबाट

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -