२०८३ जेष्ठ १ गते, शुक्रबार ०३:०५

सिम्रौनगढका पूर्वप्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरेको आरोपमा ९ लाख ९५ हजार बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सिम्रौनगढ नगरपालिका बाराबाट देवापुरमा पोखरी ठेक्का लगाउँदा ७ वटा फर्मको ठेक्का परेकोमा सम्झौता नगरी धरौटी फिर्ता गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा मरासेनी र चौधरीले ठेक्काको सम्झौताबिना नै ठेक्कामा कबोल गर्ने तेश्रो, चौथो, पाँचौं, छैठौ र सातौं फर्मको धरौटी फिर्ता गर्न तोकआदेश गरी नगरपालिकालाई नोक्सान पुर्‍याएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘देवापुर पोखरी ठेक्काको लागि पुन: सूचना प्रकाशन गर्दा सार्वजनिक पोखरी संरक्षण समितिको सिफारिस तथा नगरप्रमुखको तोकआदेश समेतका आधारमा ठेक्काको सूचनामा न्यूनतम कबोल अंक सुरुको ठेक्काको रकमलाई कुनै पनि सिफारिस तथा निर्णयसमेतको अनदेखा गरी आफूखुसी घटाई एकल निर्णय गरी ठेक्काको न्यूनतम अंक पहिलेको भन्दा आफूखुसी रुपमा घटाई सिम्रौनगढ नगरपालिकालाई रु. ९,९५,०००।- घटी राजस्व असुल गरी राजस्व चुहावट गर्ने कार्य गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) बमोजिमको कसुर भएको हुँदा निजलाई रु. ९,९५,०००।- (नौ लाख पन्चानब्बे हजार रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकम रु. ९,९५,०००।- को दोब्बर जरिवाना हुन समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM