२०८३ जेष्ठ २६ गते, मंगलवार १३:३३

निर्वाचन प्रहरीको पोशाक खरिदमा करोडौं भ्रष्टाचार, आइजीपी र पूर्व गृहमन्त्री अख्तियारको छानबिनमा

काठमाडौं । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाल प्रहरीले भर्ना गरेका १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरीका लागि पोशाक लगायतका बन्दोबस्तीका सामान खरिदमा ब्यापक अनियमितता भएको तथ्य खुलेको छ । निर्वाचन प्रहरीको बन्दोबस्तीका सामान खरिदमा ६० करोडभन्दा बढी भ्रष्टाचार भएको ब्यहोरासहितको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिदमा भएको अनियमितताका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका लेखापालहरुसँग बयान लिएको छ । यसअघि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बन्दोबस्तीका सामान आपूर्तिको ठेक्का पाएका ठेकेदार राजमान मिश्रसँग पनि अख्तियारले बयान लिइसकेको छ । राजमान मिश्रसँग बयान लिइसकेपछि निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएका तथ्य खुलेपछि आर्थिक तथा प्रबन्ध निर्देशनालयका डीआईजी विश्व अधिकारीदेखि तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीसम्म पनि तानिने भएका छन् ।

अख्तियारमा दर्ता भएको उजुरीमा म्यादी प्रहरीका निम्ति चुस्ता, जुत्ता, मोजा, बेल्ट, स्वेटर र लाठीको बजार मूल्यभन्दा बढी रकम देखाएर घोटाला भएको उल्लेख गरिएको छ । लगभग ३ हजार ५ सय रुपैयाँ पर्ने ती सामान प्रतिव्यक्ति ६ हजार ५ रुपैयाँसम्म खरिद गरी अनियमितता भएको उल्लेख छ ।

निर्वाचन प्रहरीका लागि कम्पनी नै तोकेर सामान खरिद गरिएको छ । कम्पनी नै तोकेर गोल्डस्टार जुत्ता खरिद गरिएको छ । जुत्ता खरिदमा मात्र १० करोड रुपैयाँ हिनामिना भएको आरोप छ । निर्वाचन प्रहरीका लागि १ लाख ३३ हजार ९ सय ८० जोर जुत्ता खरिद भएको थियो । सिधैं कम्पनी नै तोकेर खरिद गर्नुले पनि भ्रष्टाचार भएको कुरा पुष्टि गरेको छ ।

१ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको खरिदमा ४० प्रतिशत कमिसनको चलखेल गरिएको आरोप छ । एक प्रहरी बराबर १ हजार ५ सय कमिसन रकम छुट्याइएको छ । १ हजार ५ सयमध्ये पचास प्रतिशतले हुन आउने रु. ७५० प्रहरी हेडक्वाटर, ३ परिसरसहित ७४ जिल्ला प्रहरी कार्यालयलाई पैंतीस प्रतिशतले हुन आउने ५ सय २५ रुपैयाँ र १५ प्रतिशतले हुन आउने २ सय २५ रुपैयाँँ प्रतिब्यक्ति ६ वटा प्रदेशका डिआईजी र उपत्यका प्रमुख रहेका एआईजी ईश्वर कार्कीलाई भागबण्डा गरिएको स्रोतको दाबी छ । एक निर्वाचन प्रहरीबराबर १ हजार ५ सय रुपैयाँले गुणा गर्दा १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको २० करोड ९७ हजार हुन आउँछ ।

निर्वाचन प्रहरीको बन्दोबस्तीका सामान खरिदमा कमिसनको डिल पूर्वडीएसपी गणेश चन्दले गरेका थिए । दानबहादुर कार्की आईजीपी भइसकेपछि उनको निवासदेखि बालुवाटारमा रहेको बिर्यानी हाउस एण्ड सेकुवा केभमा गणेश चन्दले प्रहरीका ठेक्कापट्टादेखि सरुवा बढुवाको डिल गर्ने गरेको स्रोत बताउँछ । निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिद गर्दा तलदेखि प्रहरी मुख्यालयसम्म कमिसनको भागबण्डा गरिएको स्रोत बताउँछ ।

निर्वाचन प्रहरीको बन्दोबस्तीका सामान खरिदमा पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल समेत तानिने भएका छन् । स्रोतका अनुसार निर्वाचन प्रहरीका लागि बन्दोबस्तीका सामान खरिद गर्दा अर्थमन्त्रालयबाट बजेट ल्याउने क्रममा तत्कालीन गृहमन्त्री अर्याल र प्रहरी प्रधान कार्यालयको तर्फबाट आर्थिक तथा प्रबन्ध निर्देशनालयका प्रमुख डिआईजी विश्व अधिकारी र अर्यालबीच सम्झौता भएको थियो ।

अर्थमन्त्रालयबाट बजेट ल्याउन अर्याल र अधिकारीले हस्ताक्षर गरेकाले उनीहरु तानिने भएका हुन् । आईजीपी दानबहादुर कार्कीले प्रबन्ध निर्देशनालयका डीआईजी विश्व अधिकारीलाई अधिकार प्रत्यायोजन गरे पनि उन्मुक्ति पाउन नसक्ने स्रोत बताउँछ । निर्वाचन प्रहरीले नै पोशाकसहितका सबै सेट खरिद गरेको भन्दैआएको छ ।

निर्वाचन प्रहरीले नै पैसा लिएर खरिद गरेको भनेर पन्छिन खोजे पनि केन्द्रमा तत्कालीन गृहमन्त्री अर्याल र प्रबन्धका डीआईजी अधिकारीबीच भएको सम्झौता र हरेक जिल्लामा प्रहरी प्रमुख, लेखापाल र निर्वाचन सेलको प्रतिनिधि रहेको समिति गठन गरेकाले खरिदमा संलग्नता नरहेको भन्ने आधार नदेखिएकाले अख्तियारले छानबिन गरी मुद्दा नै दायर गर्ने तयारी गरेको स्रोत बताउँछ ।

स्रोतका अनुुुुसार अख्तियार निर्वाचन प्रहरीको पोशाक खरिदमा ओमप्रकाश अर्याल र आईजीपीसम्मलाई बयान लिने तयारीमा छ ।

 

साभार : नेपाल फेस

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM