२०८३ जेष्ठ २६ गते, मंगलवार १५:२०

फेरि मन्त्री बन्दै महावीर पुन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधि सभा सदस्य महावीर पुन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्ने भएका छन् ।

बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई नवगठित ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ को जिम्मेवारी सुम्पन लागिएको हो ।

पुनकै विशेष सुझाव र अवधारणाका आधारमा सरकारले यसपटक ‘नवप्रवर्तन’लाई समेत समेटेर यो नयाँ मन्त्रालयको संरचना तयार पारेको थियो । आफ्नो सुझाव अनुसारकै मन्त्रालय बनेपछि पुनले यसको नेतृत्व सम्हाल्न सहमति जनाएका हुन् ।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको रूपमा कार्यभार सम्हालिसकेका पुनले संसदीय निर्वाचनमा भाग लिन मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि सम्पन्न आम निर्वाचनमा म्याग्दी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी भारी मतका साथ विजयी भई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

विज्ञान, प्रविधि र देशको आर्थिक विकासका लागि नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि वकालत र काम गर्दै आएका पुन मन्त्रालयमा आउने भएपछि युवा र प्रविधि क्षेत्रका सरोकारवालाहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

नवगठित मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले देशमै प्रविधिको विकास र युवा वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिने बुझिएको छ ।

(डिसी नेपाल)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM