२०८३ जेष्ठ २० गते, बुधबार १०:५६

बारामा १७ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला

बारा/बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा एक १७ वर्षीय किशोर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार स्थानीय फरिदन मियाका १७ वर्षीय अविवाहित छोरा समिम मिया तेली शुक्रबार बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार समिमले सुत्ने कोठाभित्र रहेको काठको बल्लोमा कालो सलको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे बिहान करिब ६ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी चौकी मुशहर्वाबाट प्रहरी नायब निरीक्षक नारायणप्रसाद लुइँटेलको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा मुचुल्का टोली खटिएको प्रहरीले जनाएको छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM