२०८३ जेष्ठ १९ गते, मंगलवार १८:०३

वीरगंजका मेयर राजेशमान सिंह धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। लिखत सम्बन्धी कसुर तथा झुटा विवरणका आधारमा नागरिकता लिएको अभियोगमा अदालतले कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लिखत सम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता लिएको अभियोगमा १५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।

यसअघि लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत पर्साले गत साउन १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको भोलिपल्ट उनी अदालत परिसर पुगेका भए पनि औपचारिक रूपमा हाजिर नभई सम्पर्कविहीन बनेका थिए।

लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीले विशेष टोली परिचालन गरेको थियो। सोही क्रममा प्रहरी टोलीले मंगलबार उनलाई ठोरीस्थित एक जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि प्रहरीले सिंहलाई अदालतमा उपस्थित गराएको थियो।

अदालतमा थुनछेक बहस सम्पन्न भएपछि इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि सिंह रिहा हुने कानुनी व्यवस्था रहेको छ।

मेयर सिंहविरुद्ध दर्ता भएका दुवै मुद्दा अब नियमित न्यायिक प्रक्रियामार्फत अगाडि बढ्नेछन्। अदालतको पछिल्लो आदेशसँगै केही समयदेखि चर्चामा रहेको यो प्रकरणले नयाँ मोड लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM