२०८३ जेष्ठ १६ गते, शनिबार १४:४६

राप्रपामा बज्यो संकटको घण्टी! विश्वविद्यालय चलाउने दाबी गरेका लिङदेन प्लस टु मै फेल भएको टिप्पणी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आफ्नो ३६औँ स्थापना दिवस मनाइरहँदा पार्टीभित्रैबाट एउटा गम्भीर प्रश्न उठ्यो- के राप्रपा विघटनतर्फ उन्मुख हुँदै छ?

शुक्रबार चावहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्थापना दिवस कार्यक्रममा शीर्ष नेताहरूको न्यून उपस्थितिले यही प्रश्नलाई थप बल दिएको छ।

पार्टीको इतिहासमा महत्वपूर्ण मानिने स्थापना दिवस कार्यक्रममा संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासम्म अनुपस्थित रहे। पार्टीका अधिकांश पदाधिकारी, केन्द्रीय सदस्य तथा भ्रातृ संगठनका नेताहरू पनि कार्यक्रममा देखिएनन्।

राप्रपाका नौ उपाध्यक्षमध्ये बुद्धिमान तामाङ मात्र कार्यक्रममा उपस्थित थिए भने ६ जना महामन्त्रीमध्ये राजेन्द्र गुरुङबाहेक अन्य महामन्त्री अनुपस्थित थिए।

पार्टीको नेतृत्व तह नै स्थापना दिवसप्रति उदासीन देखिएपछि कार्यकर्तामाझ समेत निराशा छाएको देखिएको छ।

पार्टीका एक केन्द्रीय नेताले भने, ‘स्थापना दिवस भनेको कुनै पनि राजनीतिक दलको आत्ममूल्यांकन र शक्ति प्रदर्शन गर्ने दिन हो। त्यही दिन पार्टीका प्रमुख नेताहरू उपस्थित नहुनु सामान्य घटना होइन। यसले संगठनभित्र गम्भीर समस्या रहेको संकेत गर्छ।’

पछिल्ला केही वर्षयता राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा उठाउँदै सडक र संसद् दुवैतिर आफ्नो उपस्थिति देखाउने प्रयास गरिरहेको छ। तर, पार्टीभित्र नेतृत्वकेन्द्रित असन्तुष्टि, गुटीय ध्रुवीकरण र प्रभावशाली नेताहरूबीचको दूरी बढ्दै गएको देखिएको छ ।

राप्रपाका युवा नेता समीर तामाङले स्थापना दिवसको दृश्यलाई पार्टीको वर्तमान अवस्थाको ऐना भएको टिप्पणी गरेका छन्।

‘यस्तो गएगुज्रिएको स्थापना दिवस राप्रपाको इतिहासमै देखिएको थिएन। पहिलेका अध्यक्षहरूको विश्वविद्यालयभन्दा राम्रो चलाएर देखाउँछु भनेर राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि दम्भ गरेका थिए,’उनले भने, ‘तर, आजको ‘फ्लप शो’ हेर्दा विश्वविद्यालयको हाँक दिने लिङ्देन प्लस टु कलेजमै फेल भएको प्रमाणित भएको छ।’

पार्टीभित्रको निष्क्रियता र नेतृत्वप्रतिको बढ्दो असन्तुष्टि दीर्घकालीन रूपमा खतरनाक हुन सक्ने भन्दै पार्टीमा चिन्ता प्रकट हुन थालेको छ । राजावादी र हिन्दुवादी मतलाई एकीकृत गर्ने दाबी गर्दै आएको राप्रपा पछिल्ला वर्षहरूमा कमजोर देखिँदै आएको छ ।

यस्तोमा स्थापना दिवसमा शीर्ष नेतृत्वको सामूहिक अनुपस्थिति र कार्यकर्ताको कमजोर सहभागिताले राप्रपामा कुन हदसम्मको असन्तुष्टि छ भन्ने देखाउँछ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM