२०८३ बैशाख १३ गते, आईतवार १४:५५

ट्रम्पको पार्टीमा गोली चलाउने व्यक्ति को हुन् ? किन चलाए गोली ?

काठमाडौं । ह्वाइट हाउसका पत्रकारहरूसँग आयोजित डोनाल्ड ट्रम्पको डिनर कार्यक्रममा गोली चलेपछि एक संदिग्ध व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। गोलीको आवाज सुनेलगत्तै भारी हतियारसहितका सुरक्षाकर्मीहरूले राष्ट्रपति ट्रम्पलाई घेरेर सुरक्षित रूपमा कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए।

घटनापछि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा दुईवटा तस्बिर साझा गर्दै भुइँमा हात पछाडि बाँधिएको अवस्थामा रहेका एक व्यक्तिलाई ‘संदिग्ध आक्रमणकारी’ को संज्ञा दिएका छन्। ट्रम्पले पत्रकार सम्मेलनमा भने, “मैले संदिग्धको तस्बिर सार्वजनिक गरिदिएको छु, जसले तपाइँहरूलाई घटनाको गाम्भीर्य बुझ्न मद्दत गर्नेछ।”

अमेरिकी सञ्चारमाध्यमका अनुसार पक्राउ परेका व्यक्ति क्यालिफोर्नियाको टरेन्स निवासी ३१ वर्षीय कोल टोमस एलन हुन्। मेट्रोपोलिटन प्रहरी विभागका अन्तरिम प्रमुख जेफ्री क्यारोलले संदिग्ध व्यक्ति त्यही होटलको पाहुना भएको र उनी बसेको कोठाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

आक्रमणको उद्देश्यबारे सोधिएको प्रश्नमा क्यारोलले भने, “अहिलेसम्म कुनै निश्चित उद्देश्य खुलेको छैन, तर सुरक्षा जाँच चौकीले आफ्नो काम प्रभावकारी रूपमा गरेकाले ठूलो क्षति हुन पाएन। यदि तपाइँ सुरक्षामा कमजोरी थियो भन्ने सोच्नुहुन्छ भने त्यो गलत हुनेछ, किनभने संदिग्धलाई सुरक्षा घेराभित्रै समातिएको छ।”

संदिग्धको साथबाट एक सटगन, एक ह्यान्डगन र कैयौँ चक्कुहरू बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानले उनी एक्लैले यो योजना बनाएको देखाएको छ र अहिले सर्वसाधारणका लागि कुनै खतरा नरहेको प्रहरीले स्पष्ट पारेको छ।

वासिङ्टन डिसीकी मेयरले संदिग्धको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनी प्रहरी नियन्त्रणमा रहेको बताएकी छिन्। अमेरिकी अटर्नी जिनिन पिरोले संदिग्धमाथि हिंसात्मक अपराधमा हतियार प्रयोग गरेको र सङ्घीय अधिकारीहरूमाथि आक्रमण गरेको अभियोगमा मुद्दा चलाइने र सोमबार अदालतमा पेश गरिने जानकारी दिइन्।

राष्ट्रपति ट्रम्पले सुरक्षा व्यवस्थाको प्रशंसा गर्दै संदिग्ध व्यक्ति ‘धेरै बिरामी र खतरनाक’ देखिएको बताएका छन्। उनले सीसीटीभी फुटेज साझा गर्दै संदिग्ध व्यक्ति करिब ५० गजको दूरीबाट दौडिँदै सुरक्षा मेसिनहरू पार गर्न खोजेको बताए।

ट्रम्पले भने, “आज राति आक्रमणकारी मुख्य कार्यक्रम स्थल (बलरूम) सम्म पुग्न सकेन किनभने सुरक्षा व्यवस्था अभेद्य थियो।” जुलाई २०२४ मा बटलरमा भएको आक्रमणसँग तुलना गर्दै उनले अहिलेको सुरक्षा व्यवस्था पहिलेभन्दा धेरै राम्रो भएको दाबी गरे।

बीबीसीका संवाददाता ग्यारी ओ’डोनह्युका अनुसार रातको करिब ८:३५ बजे मुख्य ढोकातिरबाट केही पड्किएको आवाज सुनिएको थियो, जुन पछि स्वचालित हतियारको फायर भएको पुष्टि भयो।

हतियारधारी व्यक्तिले प्रवेशद्वारमा रहेको ‘म्याग्नेटोमिटर’ बाट जबरजस्ती छिर्न खोज्दा सीक्रेट सर्भिसले उसलाई नियन्त्रणमा लिएको थियो। अहिले क्यालिफोर्नियास्थित संदिग्धको घरमा पनि सुरक्षा निकायले छापा मारी थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM