मोरङ/सुनसरीको इटहरीबाट ६० हजारभन्दा बढी पिस लागुऔषधसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सुनसरी प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार शनिबार राति भारतको बिहारस्थित नरपतगञ्जका २९ वर्षीय मोहम्मद सहनेवाजलाई पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक खड्काले इटहरी उपमहानगरपालिका- ११ स्थित भाडाको घरमा बसोबास गर्दै आएका सहनेवाजको साथबाट ५० हजार ५ सय ४० क्याप्सुल ट्रामाडोल र ९ हजार ५ सय २० डाइसाइक्लोमिन बरामद भएको जानकारी दिएका छन्।
विशेष सूचनाका आधारमा प्रहरीले सहनेवाज बसोबास गर्दै आएको घरमा छापा मारेको थियो। पक्राउ परेका सहनेवाजले भारतबाट लागुऔषध ल्याउँदै इटहरीबाट पूर्वका विभिन्न स्थानमा लुकिछिपी वितरण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हाल पक्राउ परेका भारतीय नागरिक सहनेवाजविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ।














