– रन्जन कार्की
राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) लाई फटाहा, चाकडी, चाप्लुसी, अन्धभक्त र पछौटेहरूको जालोले जेलिएको पार्टी भन्नु कुनै अतिरञ्जित आरोप होइन, बरु यसको आन्तरिक संरचना, नेतृत्व शैली र राजनीतिक संस्कारको यथार्थ चित्रण हो।
यो पार्टी सिद्धान्त, नीति वा राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थ, नेताको खुट्टा ढोग्ने प्रवृत्ति र पुरानो सोचको अन्धकारमा रुमल्लिएको छ। यहाँ योग्यता, नवीन सोच वा जनसेवाको कुनै मूल्य छैन। बरु जसले नेताको चाकडी गर्छ, फटाहा कुरा गरेर आफूलाई ठूलो देखाउँछ र अन्धभक्त भएर बोलेर हिँड्छ, उसैलाई पद, अवसर र ‘राजनीतिक भविष्य’ दिइन्छ।
यो पार्टीमा प्रवेश गरेपछि युवा राजनीतिज्ञले आफ्नो स्वतन्त्र विचार, आलोचना गर्ने क्षमता र सच्चा राष्ट्रिय एजेन्डालाई चिहानमा गाड्नुपर्ने हुन्छ। किनकि यहाँ प्रश्न गर्नु भनेको विद्रोह ठानिन्छ र चाप्लुसी गर्नु नै ‘वफादारी’ ठानिन्छ।
राजनीतिक भविष्य खोज्ने युवाहरूका लागि राप्रपामा लाग्नु भनेको आफ्नो करियरको सबैभन्दा ठूलो दुर्घटना निम्त्याउनु हो। किनकि यो पार्टीमा लागेपछि तपाईंको राजनीतिक विकासको गति पूरै रोकिन्छ। यहाँको संस्कारले युवालाई अगाडि बढ्न दिँदैन, बरु पुराना पछौटे नेताहरूको छायाँमा मात्र राख्छ। जसले फरक सोच राख्छ, ऊ तुरुन्तै ‘अनुशासनहीन’ ठहरिन्छ र पार्टीबाट बाहिरिन्छ।
अन्धभक्त बन्न तयार नभएसम्म यहाँ कुनै पद, टिकट वा प्रभाव हुँदैन। फलस्वरूप युवा राजनीतिज्ञहरूको ऊर्जा, सिर्जनशीलता र भविष्यदर्शी सोच पूरै नष्ट हुन्छ।
उनीहरूले आफूलाई ‘राष्ट्रियतावादी’ भन्ने नारामा मात्र सिमित राखेर पुरानो राजसंस्थावादी र हिन्दूवादी एजेन्डा देखाएर जम्माजम्मी ५% भोटमा फसेर त्यो पनि पञ्चायतकाल देखि गणतन्त्र आउँदा समेत तिनै पात्रहरूले अवसर पाउने छन्। योगदान गर्ने भर्खरका युवा भन्नेहरूले आफ्नो सम्पूर्ण राजनीतिक जीवन बिगार्छन्।
जुन पार्टीले २१औँ शताब्दीको नेपाल सुहाउँदो सम्बर्द्धनवादी पार्टी निर्मान गर्नु कताकता १९औँ शताब्दीको सोचाइ बाट ग्रसित मान्छेहरूको सोचबाट चलेको पार्टीले अहिलेको पुस्तालाई सम्बोधन गर्न सक्दैन। र उनीहरुको उदेश्य कहिल्यै हासिल हुँदैन त्यसमा लागेर युवाले आफ्नो भविष्य मात्र होइन, आफ्नो पुस्ताको समग्र राजनीतिक सम्भावनालाई नै खत्तम पार्छ।
अर्को दुर्घटना के हो भने, राप्रपामा लागेका युवाहरूले लामो समयपछि पनि कुनै ठोस उपलब्धि हासिल गर्न सक्दैनन्। पार्टीको आन्तरिक कलह, चाकडीको प्रतिस्पर्धा र फटाहा संस्कारले उनीहरूलाई निरन्तर निराश बनाउँछ। जुन पार्टीले आफूलाई ‘राष्ट्रवादी’ भन्छ तर वास्तवमा व्यक्तिपूजामा आधारित छ, त्यहाँ लागेर युवाले न त जनताको विश्वास जित्न सक्छ न त आफ्नो राजनीतिक इज्जत कायम राख्न सक्छ। बरु उनीहरूको नाम सधैंभरि ‘पछौटे शक्तिको अन्धभक्त’ को रूपमा जोडिन्छ।
राजनीतिक भविष्य खोज्ने युवाले यस्तो पार्टीमा लाग्नु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु हो। यसले उनीहरूलाई न त राष्ट्रिय राजनीतिको मुख्यधारामा पुर्याउँछ न त कुनै सकारात्मक योगदान दिन्छ। बरु उनीहरूको प्रतिभा र ऊर्जा पुरानो सोचको दलदलमा फसेर बिग्रन्छ।
अन्त्यमा, राजनीतिक भविष्य खोज्ने युवाहरूले राप्रपालाई जति टाढा राख्न सक्छन्, त्यति नै राम्रो। यो पार्टीमा लाग्नु भनेको अर्को ठूलो दुर्घटना निम्त्याउनु मात्र होइन, आफ्नो पुस्ताको समग्र राजनीतिक विकासलाई पनि पछाडि धकेल्नु हो।
सच्चा राजनीति भनेको चाकडी, चाप्लुसी र अन्धभक्तिमा होइन, सिद्धान्त, जनसेवा र भविष्यदर्शी सोचमा आधारित हुन्छ। त्यसैले युवाहरूले आफ्नो जीवन लाई सखाप पार्ने पार्टीहरूबाट टाढै रहनु उनीहरूको राजनीतिक भविष्यको लागि सबैभन्दा बुद्धिमानी कदम हुनेछ।















