२०८३ बैशाख १३ गते, आईतवार ०३:५१

बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने मासु पसले पक्राउ

जलेश्वर सर्राफ

वीरगंज/वीरगंज महानगरपालिका वडा नम्बर ८ मा एक ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गरेको आरोपमा एक मासु व्यवसायी पक्राउ परेका छन्।

स्थानीय दुर्गा सिनेमा हल रोडमा कुखुराको मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय ईशमाईल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित परिवारका अनुसार शुक्रबार बिहान करिब ११ बजे ती बालिका (परिवर्तित नाम: सरिता) पसलको पुरानो बक्यौता रकम तिर्न र थप मासु खरिद गर्न पसलमा गएकी थिइन्। सोही क्रममा सञ्चालक मियाले बालिकालाई मोबाइलमा अश्लील भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेको आरोप लगाइएको छ।

आफूमाथि जबरजस्ती गर्न खोज्दा बालिकाले प्रतिकारस्वरूप मियाको हातमा दाँतले टोकेर त्यहाँबाट उम्कन सफल भएकी थिइन्। घर पुगेर रुँदै बालिकाले घटनाबारे जानकारी गराएपछि आक्रोशित आफन्त र स्थानीयहरू पसल पुगेका थिए। स्थानीय आएको चाल पाएलगत्तै मिया पसल बन्द गरी फरार भएका थिए।

घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय विर्तामा लिखित निवेदन दर्ता गरिएको थियो। प्रहरीको सक्रिय खोजीका क्रममा लुकेर बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

एक साताभित्रै यौन दुर्व्यवहारका दुई घटना

पर्सा जिल्लामा पछिल्लो एक साताभित्र यौन दुर्व्यवहारको आरोपमा दुई व्यक्ति पक्राउ परेको यो दोस्रो घटना हो। यसअघि मधेस विश्वविद्यालयका कर्मचारी राजु राउत गद्दी छात्रामाथि यौन दबाब दिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका थिए। गद्दी पक्राउ परेको साता दिन बित्न नपाउँदै पुनः अर्का व्यक्ति मिया सोही प्रकृतिको कसुरमा पक्राउ परेपछि स्थानीय स्तरमा सुरक्षा र नैतिक चिन्ता बढेको छ।

पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। स्थानीयले यस्ता जघन्य अपराधिक मानसिकता भएका व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM