काठमाडौं । ललितपुरमा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिन यसरी आत्मसमर्पण गर्न पुगेका हुन् ।
उनले टिकाभैरव प्रहरी चौकीमा गएर आत्मसमर्पण गरे । प्रहरीमा पुगेका विनोदले आफैंले आफ्नी श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गरेका थिए ।
उनले आफूले मदिराको नशामा रिस थाम्न नसकेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेको बताए । प्रहरीले उनको सूचनाको आधारमा हत्या गरेर खाटमा सुताएको अवस्वामा शव बरामद गरेको छ ।
दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।
















