वीरगंज। नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं केन्द्रीय कमिटी बैठकमा राखेका प्रश्न र सुझावहरू मार्फत शीर्ष नेतृत्वमाथि कडा प्रहार गर्दै संगठनात्मक, वैचारिक र नैतिक आत्मसमीक्षाको माग गरेका छन्।
सिंहले प्रस्तुत गरेका १० बुँदामा हालको नेतृत्वको निर्णय क्षमता, कार्यशैली र पार्टीको जनविश्वास घट्दो अवस्थाप्रति गम्भीर प्रश्न उठाइएको छ। उनले भदौ २२ गते प्रस्तुत गरिएको “जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्था” शीर्षकको राजनीतिक प्रतिवेदन २४ घण्टा नपुग्दै असफल भएको उदाहरण दिँदै “फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने? नेतृत्वले सुन्न रुचाउने कुरा मात्रै सुनाउने प्रवृत्तिले पार्टीलाई सक्किने बाटोमा लैजान्छ।” भनेका छन्।
भदौ २३ गतेको नरसंहार घटनालाई पार्टीले सतही ढंगले लिएको आरोप लगाउँदै उनले “राज्य सत्ता हाम्रो हातमा हुँदा भएको त्यो घटनाको आजीवन उत्तरदायित्वबाट सतही विश्लेषणले उन्मुक्ति दिलाउँदैन।” त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गतेको विध्वंस २३ गतेकै प्रतिक्रियामा भएको उनले उल्लेख गर्दै विदेशी षड्यन्त्रजस्ता अमूर्त अवधारणाले अकर्मण्यता ढाकछोप मात्र हुने बताए।
सिंहले भ्रस्टाचार र व्यभिचारमा संलग्न दर्जनौँ नेतामाथि पार्टीले मौनता अख्तियार गरेको भन्दै प्रश्न गरेका छन् – “आरोपितहरू यहीँ छन्, संस्थागत छानबिन र कारबाही कहिले गर्ने?”
उनका अनुसार अहिले जनताको आक्रोश पार्टीभन्दा बढी अध्यक्ष र उनलाई घेरेर राख्ने समूहमाथि केन्द्रित छ। उनले स्पष्ट रूपमा भनेका छन् -“जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्र उपाय हो।”
युवा र विद्यार्थी स्वतःस्फूर्त रूपमा सडकमा उत्रनुलाई ‘प्रतिगमन’ भन्नु गलत भएको उनको तर्क छ। उनले भनेका छन्-“कुशासन र भ्रष्टाचारविरुद्ध सडकमा आवाज उठाउनु प्रतिक्रान्ति होइन, जनअधिकारको संरक्षण हो।”
जनसंगठनहरूको अवस्थाबारे बोल्दै उनले अनेरास्ववियु नेतृत्वको अस्थिरता उदाहरणका रूपमा दिएका छन्। टंक कार्कीदेखि समिक बडालपछिसम्म गर्व गर्ने संगठनको नेतृत्व एक दिन पनि नटिक्ने अवस्थामा पुगेको भन्दै उनले पार्टीभित्र गम्भीर मूल्यांकन आवश्यक रहेको बताए।
चार वर्षमा थोरैमात्र केन्द्रीय सदस्यहरूलाई बोल्ने अवसर दिइने प्रवृत्तिप्रति पनि उनको कडा आपत्ति छ। उनले भनेका छन्-“४ वर्षमा ४-५ जना बाहेक कसैलाई बोल्न नदिने बैठकबाट जनताको पार्टी बन्न सक्दैन।”
सिंहले दुई पटक संसद् विघटन गरेर फेरि पुनःस्थापनाको माग गर्ने नीतिलाई ‘जनताबीच घृणा र हासोको पात्र बन्ने’ निर्णय भनेका छन्। उनले चुनाव बहिष्कार होइन, कमजोरी सच्याउँदै जनमतमा जाने सुझाव दिएका छन्।
सिंहले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टीमा पुनःसक्रिय बनाउने वातावरण बनाउन माग गरेका छन्।
पार्टीको आन्तरिक बैठकमा उठाइएका यी प्रश्न र सुझावहरूले एमालेभित्र विचार र नेतृत्वको दिशाबारे नयाँ बहस प्रारम्भ हुने अनुमान गरिएको छ।
















