काठमाडौं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि खटाइएका सुरक्षाकर्मीहरू मध्ये ८ जना उनकी छोरी गंगा दाहालको घरमा घरेलु काममा संलग्न भएको खुलासा भएको छ। मापदण्डविपरीत खटाइएका ती सुरक्षाकर्मीहरू भान्सादेखि ड्राइभरसम्मका व्यक्तिगत जिम्मेवारीमा प्रयोग गरिएको सूचना प्राप्त भएपछि गृहमन्त्रालयले तत्काल कारबाही गर्दै फिर्ता बोलाएको स्रोतले जनाएको छ।
सरकारले केही दिनअघि मापदण्डविपरीत भनेर प्रचण्डबाट फिर्ता गरेका २४ सुरक्षाकर्मी मध्ये ८ जना गंगाको निवासमा कार्यरत रहेको खुलेपछि मन्त्रालयले थप अनुसन्धान अघि बढाएको बताइएको छ। ती सुरक्षाकर्मीहरूलाई सुरक्षाको नाममा निजी काममा प्रयोग गरिएको, उनीहरूको मानमर्दनसमेत भएको आरोप लगाइएको छ।
यता, माओवादी कार्यकर्ताहरूले सरकारको यो कदमलाई ‘राजनीतिक पूर्वाग्रह’ भन्दै विरोध जनाएका छन्। तर प्रशासनिक वृत्तमा भने सरकारी स्रोत र सुरक्षाकर्मीको व्यक्तिगत प्रयोजनमा दुरुपयोगलाई गम्भीर लापरवाहीको रूपमा लिइएको बताइएको छ।