सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन्।
असोज ५ गते राती ८:३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्केका अभिषेक बेपत्ता भए। अभिषेककी आमा , बाजे र बज्यैले रातभरी गाउँ चाहारे तर बालक अभिषेक भेटिएनन्।
असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो। फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ।
अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको र अभिषेक सिंह परिवारको एक मात्र वारिस भएको वृद्धवयका बाजे लक्ष्मण सिंहले बताए। नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्यान्हमा आएर इलाका प्रहरी कार्यालय गोलबजारमा लिखित जाहेरी दिएका छन्।
बालक अपहरणको सूचना पाएपछि प्रहरी अनुसन्धान , खोज तलास र उद्धारका लागि सकृय भएको छ। घटनास्थलमा भेटिएका प्रहरी निरीक्षक गोविन्द साहले अनुसन्धान र खोज तलास सुरु गरिएको बताए।
हराइ रहेका बालक जनता माध्यमिक विद्यालय बलहीमा कक्षा ७ मा पढदा पढदै पढाई छाडेको र आफ्नै स्वामित्वमा रहेको सिटी रिक्सा तथा ट्रयाक्टर चलाउने गरेको छिमेकीहरुले बताए।
बालक अभिषेकको अपहरणको खबर गोलबजार नगरपालिकामा डढेलो झैं फैलिएको छ। गोलबजार चोकदेखि ६ किलोमिटर दक्षिणमा रहेको डंग्राहा गाउँमा यो खबरले त्रास फैलिएको छ। स्थानीयहरु असुरक्षित महसुस गर्दैछन्।
समाचार संकलन गर्न गएका पत्रकारहरुलाई समाचार नलेखि दिन परिवारजनले आग्रह गरेका छन्। समाचार लेखेकै कारण बालक अभिषेकको ज्यान झन् खतरामा पर्ने भयले परिवारजनले आफ्नो नाम र घटनाको नालीबेली बताउन चाहदैनन्।