काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ भएको चर्चा र आशंकाबीच एउटा तस्बिर र भिडिओ क्लिप सामाजिक सञ्जालमा निकै भाइरल छ । कमब्याट पोशाक र अनुहारमा मास्क लगाएका एक युवक आन्दोलनकारीको बीचमा देखिएका छन् । वाकिटकीसमेत बोकेका यी युवक को हुन् भन्ने कौतुहल छ ।
युवकको छेवैमा ‘हामी नेपाल’ टीमको ज्याकेट लगाएका युवक पनि देखिएका छन् । त्यसैले कतिपयले ‘हामी नेपाल’ को प्रतिनिधि हुन सक्ने भनिरहेका छन् त कसैले उक्त संस्थाका संस्थापक सुधन गुरुङ नै पो हुन् कि भनेर पनि लख काटेका छन् ।
नेपाल प्रेसको सम्पर्कमा आएका सुधन भने यी सबै हल्ला र अफवाहमात्रै भएको बताउँछन् । उनले ती युवक आफ्नो संस्था स्वयंमसेवक जेनिस महर्जन भएको बताए ।
‘जेनिस महर्जन भाइ १३ वर्षदेखि हामी नेपालसँग जोडिएको थियो । ऊ जाजरकोट भूकम्पको बेलादेखि यो संस्थामा छ,’ सुधनले भने, ‘त्यो भाइले भूकम्पकै बेला आर्मीबाट कमब्याट गिफ्ट पाएको थियो । उसले कमब्याट धेरै मन पराएपछि आर्मीले ‘ल लैजाऊ’ भनेर गिफ्ट दिएको हो ।’
सुधनका अनुसार अहिले जेनिसले लगाएको त्यही कमब्याट हो । वाकिटकी चाहिँ भिडमा राम्रोसँग संचार गर्नका लागि बोकेको सुधनले बताए ।
उनले भने, ‘त्यस्तो भिडमा जोसुकैलाई जे पनि हुनसक्थ्यो । हामीले छेवैमा मेडिकल टीम राखेका थियौं । घाइतेहरूलाई मेडिकल टीमसम्म पुर्याउनलाई वाकीटकी प्रयोग गरेका थियौं ।’
हामी नेपाल र आफूहरूलाई जताततैबाट सुरक्षा थ्रेट आइरहेकाले जेनिसले मास्क लगाएको सुधनले दाबी गरे । अरुले नचिनुन् भनेर उनले त्यस्तो मास्क लगाएको उनको भनाइ छ । हामी नेपालको तर्फबाट त्यसरी कमब्याट लगाउने र वाकीटकी बोक्ने व्यक्ति जेनिसमात्रै भएको सुधनले बताए ।
उनले भने, ‘पार्टीका झोलेहरूले हामीलाई बदनाम गराउनलाई अनेक गरिरहेका छन् !’
वाकीटकी बोकेको, कमब्याट लगाएको भिडिओ व्यापक भएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आईटी टीम र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको एक टोलीले अनुसन्धान गरिरहेका छन् । सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार पनि ती व्यक्ति आन्दोलनकारी पक्षकै हुन् भन्नेमा कुनै सन्देह छैन ।
उपत्यका प्रहरीबाट अनुसन्धानरत एक अधिकृतले ती व्यक्ति सुधन गुरुङसँग निकट रहेको र सञ्चार सेट बोकेको कुरासम्म गुरुङ पक्षले स्वीकार गरेको बताए । तर, सञ्चार सेट सञ्चालनका लागि उनीहरूले अनुमति नलिएको उनले उल्लेख गरे ।
कानूनतः सञ्चार सेट सञ्चालनका लागि नजिकैको प्रहरी कार्यालयबाट मुचुल्का उठाएर सञ्चार मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमतिबेगर सञ्चार सेट बोक्न नपाइने उपत्यका प्रहरीका ती अधिकृतले बताएका छन् ।
जेनजीको आन्दोलनमा हामी नेपाल र सुधन गुरुङहरू स्वयंसेवकको भूमिकामा थिए । पानी वितरण गर्ने तथा घाइतेहरूको तत्काल प्राथमिक उपचार गर्नलाई मेडिकल टीम नै खडा गरेका थिए । तर, आन्दोलन मत्थर भएपछि सुधन गुरुङ आन्दोलनको नेताको रूपमा देखिए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन प्रक्रियामा निर्णायक भूमिकामा समेत थिए । साभार: नेपाल प्रेस
तस्बिर : विवेक पाेखरेल ।