वीरगंज/ वातावरण संरक्षण र जनचेतनाका लागि सक्रिय संस्था लिभिङ विथ एन्भायरनमेन्ट नेपाल को वीरगंज शाखामा नयाँ कार्यसमिति गठन गरिएको छ। शनिबार सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको उपस्थितिमा नौ सदस्यीय समिति घोषणा गरिएको हो। समितिको अध्यक्षमा लक्की बरनावल चयन भएका छन्।
समितिको उपाध्यक्षमा बसिर आलम गाडी, सचिवमा अंकुश पटेल, सह-सचिवमा धीरज कुशवाहा, कोषाध्यक्षमा सिमरन श्रीवास्तव, सह-कोषाध्यक्षमा बिक्की कुमार सिंह, कार्यक्रम समन्वयकमा सुरज पण्डित कुम्हार, उप-कार्यक्रम समन्वयकमा मुन्ना कुमार, जनसम्पर्क प्रमुखमा शोभा कुमारी, सह-जनसम्पर्क प्रमुखमा अजीत थाकुर हजाम र इको-च्याम्प समन्वयकमा रोहित यादव चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै वातावरणीय अभियानलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा प्राण गुमाएका जेन-जेड पुस्ताका शहीदहरूको सम्झनामा दुई मिनेट मौन धारण गरिएको थियो।
नयाँ कार्यसमितिले यसवर्षको पर्सा युवा महोत्सव-२ भव्य रूपमा आयोजना गर्ने घोषणा गरेको छ। महोत्सवमा जिल्लाभरिका विद्यालयहरूले विज्ञान प्रदर्शनी, कला, नृत्य, गायन, सामान्य ज्ञान र बुद्धिचालजस्ता गतिविधिमा प्रतिस्पर्धा गर्नेछन्। पचास हजार रुपैयाँ पुरस्कार राशिसहित हुने यो महोत्सवलाई स्थानीय युवाको प्रतिभा प्रदर्शन गर्ने ठूलो मञ्चका रूपमा लिइएको छ।
यस्तै, ग्रामीण क्षेत्रमा जैविक खेती, स्वच्छ पानीको महत्व र वातावरणीय सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष आकाश चौहानले वातावरणीय अभियानमा युवाको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
















