काठमाडौं, २६ भदौ/नेपाली सेनाले पछिल्लो सुरक्षा अपडेट सार्वजनिक गर्दै विभिन्न घटनामा तत्कालीन हस्तक्षेप र नियन्त्रण गरिएको जनाएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्ती क्षेत्रमा फेला परेका आठ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
त्यसैगरी, देशका विभिन्न कारागार तथा बालसुधार गृहबाट भागेका कैदी तथा बालबन्दीलाई समेत नियन्त्रणमा लिइएको सेनाले जनाएको छ। काठमाडौंको सुन्धरा स्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी, डोटीको दिपायल–सिलगढीस्थित बालसुधार गृहबाट भागेका ३ जना, धादिङको गजुरीस्थित कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट भागेका १६ जना बालबन्दीलाई पक्राउ गरिएको हो।
यस्तै, बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला कारागारमा कैदीबन्दीहरूले होहल्ला गर्दै आगजनी गरी बाहिर निस्कन खोजेपछि सेनाले तत्काल नियन्त्रणमा लिएको छ। सो क्रममा एक जना कैदी घाइते भएका छन्।
ललितपुर जिल्लाको भैसेपाटीस्थित स्थानीय प्रहरी चौकीमा भने स्थानीय बासिन्दाले सरसफाइ गरी प्रहरीलाई स्वागत गरेका छन्।
यसैबीच, हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ।
















