काठमाडौं । सरकारले नेपाल प्रहरीका जनपदतर्फका आठै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एकसाथ सरुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संगठनभित्र उच्च तहको नेतृत्वमा व्यापक हेरफेर गर्दै सबै एआईजीको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख मनोज केसीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। उनको स्थानमा उमाप्रसाद चतुर्वेदीलाई सीआईबीको नेतृत्वको जिम्मेवारी दिइएको छ।
यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीलाई मानवस्रोत विकास विभागमा सरुवा गरिएको छ। उपत्यका प्रहरी कार्यालयको नेतृत्व सुशील सिंह राठौरलाई दिइएको छ। राठौर यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए।
मानवस्रोत विकास विभागमा कार्यरत राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानमा कार्यरत सिद्धिविक्रम शाहलाई कार्य विभागको जिम्मेवारी दिइएको छ।
त्यसैगरी प्रदेश समन्वय विभागका एआईजी डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन् भने प्रशासन विभागमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल प्रहरीको उच्च नेतृत्व तहमा व्यापक जिम्मेवारी हेरफेर भएको छ।















