काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि काठमाडौं महानगरपालिकाभित्र अनिश्चित कालिन कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) वमोजिम जारी गरिएको आदेश बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने बताइएको छ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार तोकिएको सीमाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।
कर्फ्यू आदेशले समेटेको क्षेत्र चक्रपथभित्रको सम्पूर्ण भूभाग रहेको छ। यसअन्तर्गत बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको भौगोलिक सीमा पर्नेछ।
प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन, पर्यटक सवारी साधन तथा हवाई टिकटका आधारमा यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण हुने जनाएको छ।
















