काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै उनले आफ्नो राजीनामा पत्र बुझाएको गृहमन्त्री सचिवालयले पुष्टि गरेको छ। मन्त्रिपरिषद् बैठक चलिरहेको क्रममा उनले पदत्यागको निर्णय प्रधानमन्त्रीलाई सुम्पिएका हुन्।
यसअघि गृहमन्त्री लेखकले भएको मानवीय क्षतिपछि नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिने घोषणा गरेका थिए। उनले भनेका थिए, “यत्रो मानवीय नरसंहारपछि नैतिकताका आधारमा पनि मैले पदमा बसिरहनु उचित ठान्दिन।”
नेपाली कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले समेत लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि बैठकबाट बाहिरिएलगत्तै लेखक बालुवाटार पुगेका र त्यहाँ राजीनामा बुझाएको जनाइएको छ।
गृहमन्त्री लेखकको राजीनामापछि अब प्रधानमन्त्रीले औपचारिक निर्णय लिएर राष्ट्रपतिसमक्ष पठाउने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
















