काठमाडौँ २० भदौ ।
निजामति सेवा दिवस–२०८२ को अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा वृक्षारोपण तथा सरसफाई गरिएको छ ।
मन्त्रालयले आज विहान आयोजना गरेको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
निजामति सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रुपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारीहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दैगर्दा दायित्वलाई नविर्सन समेत आग्रह गर्नुभयो ।
उर्जामन्त्री खड्काले उर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाई अभियानलाई सञ्चालन गर्दै आएको बताउनुभयो । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु प्रमुख उपाय भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाई थियो । उहाँले उर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाई अभियानलाई निरन्तरता दिनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।
जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढंगले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाई कार्यक्रम गर्दै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा मन्त्री खड्का, सचिव दवाडीसँगै, जल तथा उर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गर्नुभएको थियो ।
यसैगरी, आजैदेखि सिंहदरबाभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेँगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त टोलीले सिंहदरबाभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।
















