काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद सेराज फारूखीले सरकारी अस्पतालहरूको अस्तव्यस्त व्यवस्थापनतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले बीर, सिभिल र शिक्षण अस्पतालजस्ता प्रमुख स्वास्थ्य संस्थामा दिनप्रतिदिन बढ्दो बिरामी चाप, जनशक्ति र पूर्वाधारको अभाव, तथा प्रशासनिक कमजोरीका कारण स्वास्थ्य सेवा प्रभावित भएको बताएका छन्। सस्तो उपचार सुविधा र विशेषज्ञ सेवा उपलब्ध हुने भएकाले ग्रामीण क्षेत्रका बिरामीहरू पनि राजधानीका अस्पतालहरूमा धाउने प्रवृत्तिले व्यवस्थापन थप जटिल बनेको उनको भनाइ थियो।
सांसद फारूखीले तत्कालै ठोस कदम चाल्नुपर्नेमा जोड दिँदै स्वास्थ्य जनशक्ति उत्पादन र तालिममा लगानी गर्न, अस्पतालका बेड र उपकरण विस्तारका लागि पर्याप्त बजेट विनियोजन गर्न तथा डिजिटल प्रणाली र पारदर्शी प्रशासन लागू गर्न आग्रह गरे।
उनले ग्रामीण स्वास्थ्य केन्द्रहरूमा विशेषज्ञ सेवा विस्तार गर्न सके राजधानीका अस्पतालहरूमा देखिएको चाप कम हुने उल्लेख गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र निजी क्षेत्रसँगको सहकार्यलाई सबल बनाउनुपर्ने आवश्यकता औंल्याए।
“स्वास्थ्य क्षेत्रमा लगानी र सुधारले जनताको जीवन रक्षा हुन्छ। त्यसैले सरकार उदासीन हुनु हुँदैन, यी कदम तुरुन्तै कार्यान्वयन गर्नुपर्छ,” सांसद फारूखीले भने।
















