काठमाडौँ/चीनमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनले एशियाली भू–राजनीतिमा नयाँ मोड ल्याएको छ। भारत र चीनबीच देखिएको नजिकिँदो सम्बन्धलाई विज्ञहरूले विश्व शक्ति एसियामै केन्द्रित हुँदै गएको संकेतका रूपमा व्याख्या गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष पूरा भएको अवसरमा ‘फ्रेन्ड्स अन क्लाउड’ले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी विज्ञहरूले चीन–भारत सहकार्यलाई नेपालका लागि अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्।
कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेशराज दाहाल, जापानका लागि पूर्वराजदूत डा. बिष्णुहरि नेपाल, द्वन्द्व विज्ञ डा. बिष्णुराज उप्रेती, एमाले विदेश विभाग सदस्य गोपाल खनाल र ‘फ्रेन्ड्स अन क्लाउड’का अध्यक्ष शोभित उप्रेतीले सहभागिता जनाएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको एससीओ सम्मेलनमा सहभागिता र प्रस्तुतिलाई कूटनीतिक दृष्टिले कोशेढुंगा सावित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सीमा विवादको प्रसंग स्पष्ट रूपमा उठाएको र चिनियाँ पक्षले त्यसलाई आधिकारिक रूपमा नोटमा लिएको कुरा दीर्घकालीन दृष्टिले महत्वपूर्ण परिणाममा परिणत हुने विश्वास व्यक्त गरे।
वक्ताहरूले प्रधानमन्त्रीले जलवायु परिवर्तन, कृषि, विकास, पूर्वाधारलगायत विश्व समुदायका साझा मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको कुरा स्मरण गर्दै यसलाई नेपालका लागि गौरवको क्षण भने। उनीहरूले भारत र चीनको सहकार्यसँगै रुसको पनि सहभागिता रहेको उल्लेख गर्दै यसले एशियाली सहकार्यलाई बलियो बनाएको र पश्चिमी शक्तिको प्रभाव क्रमशः कमजोर हुँदै गएको ठहर गरे। उनीहरूको धारणा अनुसार एससीओ सम्मेलनपछि एसियामा विकासको गति थप तीव्र हुनेछ र यसबाट नेपालले पनि लाभ लिन सक्नेछ।
चीन र भारत दुबैसँग नेपालको आर्थिक, भौगोलिक र ऐतिहासिक सरोकार जोडिएको हुँदा नेपालले सन्तुलित कूटनीतिक कौशल र सशक्त संवादमार्फत सीमा लगायतका जटिल समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूको सुझाव थियो। उनीहरूले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको पक्षमा दृढ अठान लिँदा पनि देशभित्र कतिपय दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला फैलाएकोप्रति खेद प्रकट गरे र यस्तो प्रवृत्तिले मुलुकको हित र कूटनीतिक हैसियत कमजोर पार्ने जोखिम रहने चेतावनी दिए।
विज्ञहरूको निष्कर्षमा, भारत–चीन नजिकिँदै गएको सन्देशले एशियाली शताब्दीको सम्भावनालाई अझ बलियो बनाएको छ। यस अवसरलाई नेपालले आफ्नो भौगोलिक अवस्थाको रणनीतिक लाभका रूपमा प्रयोग गर्दै विकास र कूटनीतिक फाइदा लिन सक्ने बताइएको छ।
















