काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)मा चन्द्रकुवेर खापुङको नियुक्तिपछि नेपाल प्रहरीमा शीर्ष तहमा ठूलो हलचल सुरु भएको छ। खापुङले भदौ १९ गते दर्ज्यानी चिन्ह (फुली) लगाइसकेपछि संगठनभित्र चार एआइजी पद रिक्त भएका छन्।
सीआईबी प्रमुख खापुङलाई दुई महिनाका लागि ३२औँ आईजीपी बनाइएको हो। यस्तै, आइजीपी दीपक थापा र एआइजीहरू सुदीप गिरी तथा टेकबहादुर तामाङ सेवाअवधि पूरा गरी भदौ १८ मा अवकाश गएपछि एआइजी तहमा चारवटा सिट खाली भएका हुन्।
खाली भएका स्थानमा हालका डीआईजीहरूलाई प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यसपटक मुख्य प्रतिस्पर्धामा रहेका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक सबैजना पहिले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा प्रवेश गरेका अधिकृतहरू हुन्। उनीहरू पछि नेपाल प्रहरीमा आएका थिए र हाल मंसिर २०८१ मा डीआईजीमा बढुवा भएका हुन्।
राठौर प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखामा कार्यरत छन् भने चतुर्वेदी मधेस प्रदेश प्रहरी प्रमुखका रूपमा छन्। श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा जिम्मेवारीमा छन्। उनीहरूकै ब्याचका सिद्धिविक्रम शाह यसअघि नै एआइजी बनिसकेका छन्।
यद्यपि, प्रहरीकै पुराना अधिकृतहरूले राअविबाट आएका अधिकृतलाई चुनौती दिन तयारी गरेका छन्। कोसी प्रदेश प्रमुख ईश्वर कार्की, लुम्बिनीका राजेन्द्रप्रसाद भट्ट, गण्डकीका दिनेशकुमार आचार्य, बागमतीका अरुण पौडेल र सीआईबीमा कार्यरत गोविन्द थपलिया यस प्रतिस्पर्धामा छन्। उनीहरू २०८१ पुस २६ मा डीआईजी बनेका हुन्।
उनीहरूमध्ये तीन जना ब्याचका सहकर्मी-दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी—पहिले नै एआइजीमा उक्लिसकेका छन्। यही ब्याचबाट भावी आईजीपी आउने निश्चित भएकाले अहिले नै बढुवा सुनिश्चित गर्न यी अधिकृतहरू आक्रामक रुपमा सक्रिय देखिएका छन्।
खापुङको अवकाशपछि मात्र एउटा पद खाली हुने भए पनि हालै खुला भएका चार सिटले बढुवामा ठूलो प्रतिस्पर्धा चर्काएको छ। यसमा ‘राअविबाट आएका’ र ‘प्रहरीकै भित्रैबाट बढेका’ अधिकृतबीच प्रतिस्पर्धा झन् तिखो हुने देखिएको छ।
















