२०८३ बैशाख १८ गते, शुक्रबार ०५:४२

एनआरएनएको सम्पत्ति हस्तान्तरण, महेश श्रेष्ठ नेतृत्वलाई जिम्मा

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनपछि गठित महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यसमितिले आधिकारिक रूपमा सम्पत्ति जिम्मेवारी ग्रहण गरेको छ। शेष घले संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले करिब ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमार्फत नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेको हो।

कार्यक्रममा भर्चुअल माध्यमबाट समेत विश्वभरका एनआरएन सदस्यहरूको उपस्थिति रहेको थियो। अवसरमा सम्बोधन गर्दै पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका संयोजक शेष घलेले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै संगठनलाई अझ प्रभावकारी बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले भने, “एनआरएनए केवल संगठन मात्र होइन, यो विश्वभर छरिएका नेपालीहरूको साझा परिवार हो। यसलाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास लिएको छु।”

उच्चस्तरीय समितिकी सदस्य जानकी गुरुङले समितिले गत वैशाखमा सम्पन्न निर्वाचन प्रक्रियापछि ८३ लाख ६२ हजार २२८ रुपैयाँ नगद तथा कम्प्युटर, प्रिन्टरलगायत जिन्सी सम्पत्ति नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको जानकारी दिइन्।

त्यस अवसरमा अध्यक्ष महेश श्रेष्ठले विगतका चुनौती र विवादको स्मरण गर्दै सबैलाई एकता प्रक्रियामा जोडिन आह्वान गरे। उनले भने, “हामीले कठिनाइबीच पनि पारदर्शिता र निष्पक्षताको सिद्धान्तलाई कहिल्यै त्यागेनौँ। अबको हाम्रो प्राथमिकता प्रवासी नेपालीको अधिकार, हित र परिचयलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु हुनेछ।”

श्रेष्ठले बद्री केसी समूहले अक्टोबरमा महाधिवेशन गर्ने भनिए पनि त्यो सम्भव नभएको दाबी गर्दै आधिकारिक एनआरएनए आफूहरूको नेतृत्वमा रहेको स्पष्ट पारे। उनले छिट्टै कार्यालयबाटै नियमित काम कारबाही थालिने जानकारी दिए।

पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले पनि संगठनलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए। आफू एनआरएनए नागरिकता पाउने पहिलो व्यक्ति भएको स्मरण गर्दै उनले नागरिकता कार्यान्वयनसहित प्रवासी नेपालीसँग सम्बन्धित सम्पूर्ण विषयमा सशक्त आवाज उठाउन एकजुट संगठन अपरिहार्य रहेको बताए।

नवनिर्वाचित उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीहरूले पनि सहकार्य र साझेदारीको आधारमा नयाँ कार्यकाललाई अघि बढाउने प्रतिबद्धता जनाए। उनीहरूले प्रवासी नेपालीको नागरिकता, दोहोरो नागरिकता, श्रमिक अधिकार, लगानी प्रवर्द्धन र आपत्कालीन अवस्थामा सहयोग पुर्‍याउने अभियानलाई प्राथमिकतामा राखिने स्पष्ट पारे।

भर्चुअल माध्यममार्फत सहभागी भएका पूर्वअध्यक्ष देवमान हिराचन, सदस्य विनोद कुँवर, अभियन्ता आरके शर्मा लगायतका वक्ताहरूले महेश श्रेष्ठ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउन सुझाव दिएका थिए। कार्यक्रममा सचिव चिन्तामणि सापकोटा, कोषाध्यक्ष ठाकुर ढुंगानालगायत पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM