काठमाडौं, १० भदौ/
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँग भेटवार्ता भएको छ । भेटको क्रममा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको व्यवहारप्रति राष्ट्रपति भण्डारीले असन्तोष व्यक्त गरेकी छन्।
भेटका क्रममा भण्डारीले लामिछानेमाथि भइरहेको ‘ज्यादती’ निन्दनीय भएको बताउँदै सहकारी समस्या समाधान गर्ने ऐन तथा नीतिगत उपायहरूमा ध्यान दिनुको सट्टा राज्य संयन्त्रले व्यक्तिलाई लक्षित गरी दुःख दिएको आरोप लगाइन्।
उनले एउटै मुद्दामा फरक–फरक व्यवहार गरिनु न्यायिक समानताको सिद्धान्त विपरीत रहेको बताउँदै, “राज्यले निष्पक्ष ढंगले सबाल समाधान गर्नु आवश्यक छ, तर अहिले देखिएको प्रवृत्ति चिन्ताजनक छ,” भनिन्।
भण्डारीले यस अवसरमा आफू अब सक्रिय राजनीति नफर्कने स्पष्ट पार्दै पनि एमालेसँगको नाता भने यथावत रहेको बताइन्। उनले एमालेभित्रै काम गर्न चाहेको तर आन्तरिक रूपमा केही अवरोधहरू खडा गरिएको गुनासोसमेत गरिन्।
उनको भनाइअनुसार, सहकारी पीडितको न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले राजनीतिलाई व्यक्तिपिच्छे लक्षित गर्ने कार्यले समग्र लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने चेतावनी दिइन्।

















