काठमाडौँ/नेपाल र चीनको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षको अवसरमा, फ्रेन्डस अन क्लाउडले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा समृद्धिको लागि चीनसँगको सम्बन्धको महत्त्व विशेष गरी औंल्याइएको छ। यस अवसरमा, विभिन्न क्षेत्रका विज्ञहरूले चीनको साथ नेपालको भविष्यको समृद्धिका लागि अपरिहार्य रहेको बताएका छन्।
पूर्व परराष्ट्रमन्त्री एवं चीनका लागि नेपालका पूर्व राजदूत महेन्द्र पाण्डे, इतिहासविद डा. सुरेन्द्र केसी, परराष्ट्र विज्ञ डा. मनिता कुशी र फ्रेन्डस अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीले उक्त धारणा राखेका हुन्।
पूर्व परराष्ट्रमन्त्री पाण्डेले लिपुलेक प्रकरणमा नेपाल सरकारको सुझबुझपूर्ण कदमको महत्त्वपूर्ण आवश्यकता औंल्याए। उनले भने, “नेपालको लाभका लागि दुबै देशसँग सकारात्मक वार्ता र अनुकूल वातावरण तयार गर्न प्रधानमन्त्रीको पहल आवश्यक छ।” यसबाहेक, उनले चीनका विश्वविद्यालयहरूमा अनुसन्धानको उच्च प्राथमिकता रहेको कुरा जोड्दै नेपालका विश्वविद्यालयहरूलाई पनि उक्त दिशा मा अघि बढाउनुपर्ने आवश्यकता व्यक्त गरे।
इतिहासविद डा. सुरेन्द्र केसीले नेपालको सुरक्षामा चीनको योगदानको महत्त्व र ऐतिहासिक सम्बन्धलाई जोड दिँदै भने, “नेपाल र चीनको सम्बन्ध एक अठोटको रूपमा सुदृढ हुँदै गएको छ। अंशुवर्मा, भृकुटी र अरनिको जस्ता ऐतिहासिक पात्रहरूले यस सम्बन्धको निर्माण गरेका छन्।”
पारिवारिक र कूटनीतिक हिसाबले नेपाल र चीन बीचको सम्बन्ध भारतसँगको तुलनामा बलियो भएको उनले भने। “चीनलाई राष्ट्र संघको सदस्य बन्ने पक्षमा नेपालको महत्वपूर्ण भूमिका थियो,” डा. केसीले थपे।
फ्रेन्डस अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीले पनि चीनको उन्नतिको लाभ उठाउने पक्षमा नेपाललाई सचेत गराए। उनले भने, “चीन आर्थिक दृष्टिले विश्वका प्रमुख शक्तिहरूमध्ये एक बन्न लागिरहेको छ, तर नेपाल अझै पनि तल्लो स्तरका मुद्दाहरूमा अल्झिरहेको छ, जुन दुःखद हो।” उनले कूटनीतिक सम्बन्धको ७० वर्षको इतिहासलाई गर्वको विषय मान्दै नेपालले चीनको समृद्धिको लाभ अब चाँडै उठाउनुपर्ने आवश्यकता व्यक्त गरे।
यस समारोहमा चीन र नेपाल बीचको ऐतिहासिक कूटनीतिक सम्बन्ध र भविष्यमा थप सुदृढ बनाउने आवश्यकताबारे व्यापक छलफल भएको थियो। सहभागी विज्ञहरूले नेपाललाई चीनसँगको सम्बन्धको अझ प्रगति र अधिकतम लाभ उठाउन आग्रह गरे।
















