२०८३ बैशाख १८ गते, शुक्रबार ०९:५४

स्व. लिलानाथ दाहालको ३७ औँ स्मृतिसभा सम्पन्न

संखुवासभा, खाँदबारी । नेपाली काँग्रेस, संखुवासभाको खाँदबारीस्थित पार्टी कार्यलयमा पार्टीका नेता एवं पूर्वमाननीय स्व. लिलानाथ दाहालको ३७ औँ स्मृतिसभा आयोजना गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिँदै नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य समेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले स्व. दाहालको योगदान, व्यक्तित्व र राजनीतिक छविबारे चर्चा गर्नुभयो।

मन्त्री खड्काले स्व. दाहालसँग आफ्नो परिवारको पनि पारिवारिक र घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै उहाँको योगदानलाई इन्द्रको अगाडि स्वर्गको बयान जस्तै अद्वितीय र स्मरणीय रहेको उल्लेख गर्नुभयो।

स्व. दाहालले नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुभएको भन्दै मन्त्री खड्काले उहाँले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासमेतलाई पराजित गरेको प्रसङ्ग उल्लेख गर्नुभयो। उहाँले भने, “७० सालमा म निर्वाचित हुँदा ५५ वर्षअघि स्व. दाहाल निर्वाचित हुनुभएको थियो, जुन ऐतिहासिक क्षण हो। दाहालज्यू ४० वर्षको उमेरमा निर्वाचित हुनुभएको थियो भने म पनि सोही उमेरमा निर्वाचित हुन पाएकोमा गौरव अनुभव गरेको छु।”

मन्त्री खड्काले राजनीतिक दृष्टिले ढिलो भए पनि सफलताको बाटो देखाउन स्व. दाहाल प्रेरणास्रोत भएको चर्चा गर्दै बीपी कोइरालाले देखाएको “आफ्नो अधिकार आफैं स्थापित गर्ने सपना” लाई जनप्रतिनिधिहरूले संविधान निर्माणमार्फत पूरा गरेको उल्लेख गर्नुभयो। “हाम्रो लागि दाहालज्यूले देखाउनुभएको सपना र जगमा उभिएर काम गर्न पाउनु ठूलो अवसर हो,” उहाँले भन्नुभयो।

त्यस्ता व्यक्तित्वहरूले निर्माण गरेको बाटोमा आजको पुस्ताले पनि मिहिनेत र संघर्ष गर्नुपर्ने बताउँदै उहाँले सबैले अपेक्षा गरेको अवसर प्राप्त नहुन सक्ने भए पनि, जुनसुकै स्थानमा रहेर आफ्नो दायित्व इमान्दारीपूर्वक पूरा गर्नु नै महान् नेताहरूलाई दिने वास्तविक श्रद्धाञ्जलि हुने स्पष्ट पार्नुभयो।

मन्त्री खड्काले श्रद्धेय नेताहरूले गरेका योगदानलाई व्यवस्थित ढंगले लिपिबद्ध गर्न सकेमा भावी पुस्ताले समेत त्यसलाई स्मरण गर्न सक्ने र प्रेरणा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका विभिन्न तहका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM