जनकपुर, ५ भाद्र – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय, जनकपुरको निरीक्षण भ्रमण गरेका थिए।
निरीक्षणको क्रममा मन्त्री खड्काले प्रादेशिक कार्यालय प्रमुख मनोज यादव, वितरण केन्द्र प्रमुख, र अन्य कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै विद्युत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन विशेष जोड दिएका छन्।
मन्त्री खड्काले प्रदेशभरिका विद्युत र सिँचाई सेवामा सुधार गर्न आवश्यक कदम उठाउने निर्देशन दिएका छन्। उहाँले मधेश प्रदेशमा विद्युत चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको तथ्यलाई ध्यानमा राख्दै यस समस्यालाई रोक्नका लागि तुरुन्त कदम चाल्ने आवश्यकताको बारेमा कुरा गर्नुभयो।
“जनतालाई नियमित, भरपर्दो र छिटो सेवा प्रदान गर्न, विशेष गरी सुखाग्रस्त क्षेत्रहरूमा सिँचाइका लागि विद्युतिकरणका पहलहरू अघि बढाउन, र विद्युत चुहावट नियन्त्रणमा ठोस कदम चाल्न हामी प्रतिबद्ध छौं,” मन्त्री खड्काले भने।
मन्त्री खड्काले २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनु भयो। उहाँले विद्युत र सिँचाई क्षेत्रमा सुधारका लागि समन्वयात्मक भूमिकामा सक्रिय रहन आग्रह गर्दै नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत आपूर्ति गर्न आदेश दिनु भयो।
मन्त्री खड्काले मन्त्रालयको कार्यप्रणालीमा सुधार ल्याउने, राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति अपनाउने जानकारी दिएका छन्।
मन्त्री खड्काले विद्युत सेवा गुणस्तरीय बनाउन, कृषि र उत्पादनमूलक क्षेत्रमा विद्युतको उपयोग बढाउन र आम नागरिकलाई सहज सेवा उपलब्ध गराउन निरन्तर कार्यहरू अघि बढाइरहेको पनि जानकारी गराए।
















