ललितपुर/जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी निरीक्षक दिनेश गुरुङलाई नियन्त्रणमा लिएको छ। गुरुङकी पूर्वपत्नीले दर्ता गराएको जाहेरीका आधारमा उनीविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाइएको परिसरले जनाएको छ।
गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालअन्तर्गत १ नम्बर गणमा कार्यरत थिए। परिसर प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार पक्राउ पुर्जी कार्यान्वयन गरी उनलाई थुनामा राखिएको हो।
थुनामा पर्नुअघि इन्स्पेक्टर गुरुङले सामाजिक सञ्जालमार्फत आफू पूर्वपत्नीबाट निरन्तर पीडित भएको दाबी गरेका थिए। उनले छोरीलाई भेट्न जाँदा दुर्व्यवहार भएपछि प्रतिकार गरेको बताएका छन्। त्यस्तै, कार्यरत गणमै पुगेर पूर्वपत्नीले आफूलाई डीएसपी र अन्य प्रहरी अधिकारीहरूको सामुन्ने समेत हातपात गरेको दाबी उनले सार्वजनिक गरेका छन्।
















