२०८३ बैशाख २९ गते, मंगलवार ११:५७

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिवको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन्।

भेटवार्तामा राष्ट्रपति पौडेलले भारतलाई उदाउँदो अन्तर्राष्ट्रिय शक्ति भन्दै त्यसको सामाजिक–आर्थिक र प्रविधिक उपलब्धिबाट नेपाल समेत लाभान्वित भएको उल्लेख गरे। “निकट छिमेकी र मित्रको हैसियतले भारतको प्रगतिबाट हामी खुशी छौँ, अझ थप लाभ लिन चाहन्छौँ,” उनले भनाइ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उद्धृत गर्दै जानकारी दिए।

राष्ट्रपति पौडेलले नेपाल–भारत सम्बन्ध ऐतिहासिक गहिराईमा आधारित रहेको भन्दै सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक र आर्थिक सम्बन्धले दुई देशलाई अझ नजिक्याएको बताए। उनले सार्वभौमिक समानता, आपसी सम्मान र विश्वास नै द्विपक्षीय सम्बन्धको आधार रहेको स्पष्ट पारे।

भारतको ‘छिमेक पहिलो नीति’को प्रशंसा गर्दै राष्ट्रपति पौडेलले नेपाल सधैं भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताए।

त्यस अवसरमा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अनुरूप नेपाललाई शीर्ष प्राथमिकतामा राखिएको उल्लेख गरेका थिए। उनले आफ्नो भ्रमणले दुवै मुलुकबीच कनेक्टीभिटी र विकासका नयाँ सम्भावनामा छलफल गर्ने अवसर दिने विश्वास व्यक्त गरे। साथै, यस यात्राबाट द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने धारणा राखे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM