२०८३ बैशाख २९ गते, मंगलवार ११:५६

मिडिया काउन्सिल विधेयक पञ्चायती शैलीको : महासचिव दाहाल

काठमाडौं/नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले मिडिया काउन्सिल विधेयकमा देखिएको अस्पष्टता र विवादित प्रावधानप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल सुधार गर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले चेतावनी स्वरमा भन्नुभयो, “सरकारले पञ्चायतकालीन शैलीको नियन्त्रणकारी व्यवस्था ल्याउने प्रयास गरेको छ, यसलाई यथाशक्य चाँडो सुधार्नै पर्छ।”

द युनिभर्सल टाईम्स साप्ताहिक पत्रिकाको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै महासचिव दाहालले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि खतरा हुने कुनै पनि कानुनी संरचना अस्वीकार्य हुने स्पष्ट पार्नुभयो।

यसअघि प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति परमानन्द झाले मिडियामै विभेद र असमानता कायमै रहनु दुःखद भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “मधेशी समुदायका कारण मलाई पूर्व उपराष्ट्रपतिको हैसियतमा पाइने सुविधा रोकियो, तर आठ वर्षपछि अन्य समुदायका लागि भने त्यही सुविधा उपलब्ध गराइयो। यस्तो विभेद गणतन्त्रको भावनाविपरीत छ।” उनले मिडियालाई विभेद अन्त्य र समानता प्रवर्द्धनमा सशक्त भूमिकामा उभिन आह्वान पनि गर्नुभयो।

कार्यक्रममा सांसद एकनाथ ढकालले युनिभर्सल टाईम्सलाई “सकारात्मक पत्रकारिताको रोल मोडेल”को रूपमा उल्लेख गर्दै निष्पक्ष र सन्तुलित समाचारप्रति पत्रिकाको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। सांसद हरिप्रसाद उप्रतीले शान्ति र सद्भावका सन्देश प्रवाहमा पत्रिकाको योगदानलाई महत्व दिँदै भन्नुभयो, “युनिभर्सल टाईम्सले समाजलाई सकारात्मक दिशातर्फ लैजान निरन्तर प्रयत्न गर्दै आएको छ।”

त्यस्तै सांसद अशोक कुमार चौधरीले सूचना र समाचारको बाढीबीच पनि पत्रिकाले प्रमाणित र सत्य सूचनालाई प्राथमिकता दिएको भन्दै प्रशंसा गर्नुभयो। सांसद रेखा यादवले भने पत्रकारितामा पार्टीगत प्रभाव र विचारधारात्मक पूर्वाग्रहले निष्पक्षता क्षीण पार्ने चिन्ता व्यक्त गर्दै पत्रकारहरुलाई स्वतन्त्र र तटस्थ रहन आग्रह गर्नुभयो।

सांसद सेराज फारुकीले सत्य र पारदर्शितालाई अंगिकार गर्दै समाचार प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो भने सांसद तारा लामा तामाङले पत्रिकाको लेखाइ शान्ति र सामाजिक रूपान्तरणमा टेवा पु¥याइरहेको धारणा राख्नुभयो।

त्यसैगरी नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य मनुका कुँवरले पत्रिकाले विगत २१ वर्षमा मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनहरूको प्रत्यक्ष साक्षी बनेको उल्लेख गर्दै आगामी दिनमा पनि शान्ति, एकता र विकासको यात्रामा अविचलित रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। नेपाल पत्रकार मञ्चका महासचिव राजु भण्डारीले युनिभर्सल टाईम्सलाई सत्य र निष्पक्ष समाचार प्रवाह गर्ने उदाहरणीय माध्यमको रूपमा प्रस्तुत गर्दै निरन्तर सफलता शुभकामना दिनुभयो।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य सन्तराम बिडारीले पत्रकारले आफ्नो लेखाइमा उत्तरदायित्व र जवाफदेहीलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो भने प्रेस काउन्सिल प्रमुख झविन्द्र भुसालले सन्तुलित र जिम्मेवार पत्रकारिता अंगिकार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उक्त समारोहको सञ्चालन पत्रिकाका सम्पादक बिष्णु निश्चलले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM