काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीनको चारदिने औपचारिक भ्रमणमा जानुहुने भएको छ। भारत भ्रमणअघि तय भएको यो यात्रा चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने उद्देश्यसहित तय भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा भदौ १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, अन्य सदस्य राष्ट्रका समकक्षीसँग पनि द्विपक्षीय वार्ता गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।
एससीओ शिखर सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) मा चीनको तिहान्जेन शहरमा आयोजना हुने छ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका उच्च पदाधिकारीहरूको सहभागिता रहनेछ।
सांघाई सहयोग संगठनमा चीनसहित भारत, रसिया, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, पाकिस्तान र इरान सदस्य राष्ट्रका रूपमा रहेका छन्। प्रधानमन्त्री ओलीले यसअघि गत मंसिरमा चीनको औपचारिक भ्रमण गर्नुभएको थियो।
चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले भदौ ३१ (सेप्टेम्बर १६) मा भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले भारत भ्रमणका लागि तयारी सुरु गरेको जनाएको छ।
















