काठमाडौं, २७ साउन/पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एवं सांसद एकनाथ ढकालले दिगो विकास लक्ष्य प्राप्तिमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा युनिभर्सल पिस फेडरेसन (युपिएफ)–नेपालले काठमाडौंको नक्सालस्थित पिस एम्बेसी भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ‘एसडीजी र त्यसपछिका लागि स्थानीय युवा अभियान’ भन्ने नारालाई व्यवहारमा उतार्न स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म युवालाई नेतृत्व दिनुपर्ने आवश्यकता औंल्याए।
“दिगो विकास लक्ष्यहरू कागजमा मात्र सीमित हुने कि व्यवहारमा परिणत हुने भन्ने कुरा हाम्रो युवा पुस्ताको सहभागितामा निर्भर छ,” ढकालले भने, “युवाहरूले आफ्नो सिर्जनात्मकता, ऊर्जा र नवप्रवर्तनलाई राष्ट्र निर्माणमा लगाउन सकेमा नेपाल मात्र होइन, सम्पूर्ण विश्व समुदायले दिगो र न्यायपूर्ण भविष्य निर्माण गर्न सक्छ।”
उनले स्थानीयस्तरमा हुने साना–साना सकारात्मक पहललाई राष्ट्रिय कार्यसूचीसँग जोड्न सकिने स्पष्ट गर्दै, शिक्षाबाट रोजगारी, वातावरणीय संरक्षणदेखि सामाजिक न्यायसम्मका क्षेत्रमा युवाको नेतृत्वकारी भूमिका आवश्यक रहेको उल्लेख गरे। साथै, ढकालले अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिकता होइन, युवालाई सशक्त पार्ने अवसरको रूपमा लिन आग्रह गरे।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल, अन्तर्राष्ट्रिय प्रतिनिधि रिचेल जलिपा, वरिष्ठ गायक आनन्द कार्की, गायिका निशा देशारलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सांसद तथा पूर्वमन्त्री ढकालले संगीतकार एवं निर्देशक दीपक शर्मा, गीतकार बसन्त बित्यासी थापा, गायिका निशा देशार, सह प्राध्यापक तथा अर्थोपेडिक विशेषज्ञ डा. सुभाष चन्द्र झा नृत्याङ्गना/मोडेल/अभिनेत्री तथा टिभी प्रस्तोता कविता नेपाली, चिकित्सक तथा स्वास्थ्य व्यवस्थापन विशेषज्ञ डा. राम थापा क्षेत्री, संगीतकार/गायक/एरेन्जर संजय खड्गी (सञ्जित), अभिनेता तथा मोडेल सुरज गराच ‘स्राज’, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल ट्रेजरर कुलराज थापा, व्यवसायी कृष्णराज पोखरेल इन्जिनियर प्रसिद्ध खरेल, फिटनेस ट्रेनर तथा बडीबिल्डर रजनी श्रेष्ठलाई शान्ति दूत पुरस्कारबात सम्मानित गरियो।
















