सर्लाही/सर्लाहीका सीमावर्ती नाकाहरूमा तस्करीको नेटवर्क अब संगठनात्मक र संस्थागत स्वरूपमा फैलिँदै गएको छ। यसअघि कानुनी कार्यान्वयनमा खटिनुपर्ने सुरक्षा निकायहरू नै तस्करीको मिलोमतोमा संलग्न भएको पाइएको छ, जसले यस अवैध क्रियाकलापलाई थप बल पुर्याएको छ।
नेपाल फेसमा प्रकाशित समाचारअनुसार हिरापुर ब्यारेज प्रहरी चौकीका तत्कालीन इन्चार्ज सई बैद्यनाथ दासको तस्करसँगको घुस बार्गेनिङको अडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको थियो। तर, उनको स्थानमा आएका नयाँ इन्चार्ज सई नागेन्द्रप्रसाद यादवको आगमनसँगै तस्करी पुनः जिवित भएको स्रोतहरूको दाबी छ।
स्थानीय स्रोतहरूले जनाएका छन् कि फेनहरा, मधुवनी गाउँ, बहादुरपुर, बलरा लगायतका स्थानहरूबाट तस्करी भएका सामाग्रीहरू हिरापुर ब्यारेज प्रहरी चौकी हुँदै बरहथवातर्फ पठाइन्छ। यो प्रक्रिया तीव्र गतिमा चलिरहेको छ र स्थानीय व्यवसायीहरूको अनुसार तस्करीलाई सुरक्षा प्रदान गर्ने भूमिका क्षेत्रीय प्रहरी कार्यालयका घुमुवा र प्रहरी जवानहरूले निभाउँदै आएका छन्।
बरहथवा इलाका प्रहरी कार्यालयका घुमुवा वरिष्ठ हवल्दार राम यादव र शशीनन्दन पाण्डे तस्करी मिलाउने प्रमुख पात्रका रूपमा चिनिएका छन्। यी प्रहरीकर्मीहरूको दरबन्दी सिरहा र ढल्केवरमा रहेको भए तापनि उनीहरूलाई मधेश प्रदेशका उच्च अधिकारीहरूको मौखिक आदेशमा बरहथवामा खटाइएको दाबी गरिएको छ। उनका अनुसार तस्करीका सामान मोटरसाइकलमा ल्याइन्छ र नेपालतर्फ ल्याइसकेपछि गोदाममा राखी गाडीमा लोड गरेर काठमाडौं लगायत सहरमा पठाइन्छ।
गडहिया क्षेत्रमा भने तस्करीको सेटिङ इलाका प्रहरी कार्यालय गडहियाका इन्स्पेक्टर उज्वल कार्कीको निर्देशनमा सञ्चालन भइरहेको छ। इन्स्पेक्टर कार्कीका अनुसार, प्रहरी जवान बालबिर पासवानले तस्करहरूलाई स्कटिङ गर्ने, सूचना दिने र सुरक्षाको व्यवस्था मिलाउने काम गर्दैछन्। यसरी तस्करीको रुट सुरक्षित बनाउने, रकम असुली गर्ने र सेटिङ मिलाउने कार्यमा यस क्षेत्रका विभिन्न प्रहरी कर्मचारीहरू संलग्न छन्।
सर्लाहीको सीमावर्ती क्षेत्रका बस्तीहरू, जस्तै फेनहरा, बहादुरपुर, बलरा, मधुवनी, तस्करीको ‘हट स्पट’ बनेका छन्, जहाँ दर्जनौं तस्करहरू खुलेआम अवैध कारोवार गर्दै छन्। तस्करीका सामानहरूमा कवाड, कपडा, मकै, स्याउ, काक्रोको बीउ, काठ, पटाका, धान, गहुँ, कोदो, सूर्ति लगायत इलेक्ट्रोनिक सामानसमेत समावेश छन्।
स्थानीय व्यवसायीहरूले भनेका छन् कि रातको समयमा फेनहरा र बहादुरपुर नाकाबाट एक दर्जनभन्दा बढी पिकअप गाडी तस्करीमा प्रयोग हुने गर्छ। गडहियाका घुमुवा बालविर पासवानको सेटिङमा यस्ता गतिविधि सञ्चालन भइरहेको छ।

यसैबीच, सर्लाहीको पूर्वी भेगमा पर्ने प्रहरी चौकी पर्सा र नरायणपुर क्षेत्र पनि तस्करीको अर्को सुरक्षित मार्गका रूपमा देखिएको छ। यी दुवै चौकीका इन्चार्जको सेटिङमा हरेक रात एक दर्जनभन्दा बढी पिकअप गाडी नेपालबाट भारत र भारतबाट नेपाल तस्करीका सामानहरूको ओहोरदोहोर गरिरहेका छन्।
समग्रमा, सर्लाहीका सीमावर्ती क्षेत्रमा तस्करीको नेटवर्क थप बलियो भएको र यसमा प्रहरी निकायहरूको संलग्नता रहेको तथ्य पाइएको छ। यसले राज्यको कानूनी व्यवस्था र सुरक्षामा गम्भीर प्रश्न उठाउँछ, जसको जाँच र कारवाही गर्न जरुरी छ।
















