२०८३ बैशाख २९ गते, मंगलवार १२:२६

‘पवित्र समाजवाद’ पुस्तक सार्वजनिक

काठमाडौं, २० साउन/डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्व प्रशासक, लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी र फोटोग्राफर तथा विश्व कीर्तिमानी गीतकार हरिगोपाल प्रधानले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो।

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २५७ औँ कृति ‘पवित्र समाजवाद’ का लेखक डा. पौड्याल काभ्रेपलाञ्चोकका राष्ट्रिय प्रतिभा हुनुहुन्छ र हाल बेलायतमा बसोबास गर्दै आउनुभएको छ।

नेपालीपनलाई आधार बनाएर समाजवादको वैचारिक ढाँचालाई नयाँ दृष्टिकोणमा प्रस्तुत गरिएको पुस्तकमा नेपाललाई सुशासनयुक्त, भ्रष्टाचारमुक्त तथा समुन्नत राष्ट्र बनाउने स्पष्ट मार्गचित्रको परिकल्पना गरिएको छ। ३०४ पृष्ठको यो पुस्तकको मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको छ।

कार्यक्रममा बोल्दै प्राज्ञ डा. रत्नकमल वैद्यले पुस्तकले नेपाललाई भ्रष्टाचारमुक्त, द्रुत न्याय प्रणालीयुक्त र आर्थिक रूपमा समृद्ध राष्ट्र बनाउने दिशामा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। डा. इन्दुल केसीले गहिरो अनुसन्धानमा आधारित रहेर लेखिएको पुस्तकमा नीतिनिर्माणका लागि व्यवहारिक उपायहरू प्रस्तुत गरिएको जानकारी दिनुभयो। एकदिने अदालतको अवधारणा, प्रशासनिक सुधार, न्याय प्रणालीको सुदृढीकरण र आर्थिक क्रान्तिको स्पष्ट खाका यस पुस्तकका विशेषता भएको उहाँको भनाइ थियो।

पुस्तकको शैक्षिक महत्वबारे चर्चा गर्दै शिक्षासेवी तथा साहित्यकार महेश्वर खनालले ‘पवित्र समाजवाद’ लाई विश्वविद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न उपयुक्त रहेको धारणा राख्नुभयो। उहाँका अनुसार यो कृति समाजशास्त्र, राजनीतिशास्त्र, संस्कृति, वातावरण र कृषि जस्ता विषयमा अध्ययन गरिरहेका एमए, एमफिल तथा पीएचडीका शोधार्थीहरूका लागि पनि अत्यन्त उपयोगी हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM