– एल.डि.के
पूर्व नव युवराज हृदयेन्द्र शाहको भ्लग नियाल्दा, शब्दभन्दा परका अनुभूतिहरू उजागर हुन्छन्। त्यो केवल दृश्यको अभिलेख थिएन, त्यो भावनाको गहिरो प्रवाह पनि थियो-जहाँ मौनता बोल्थ्यो, र विनम्रता गुञ्जिन्थ्यो। उनको प्रस्तुतिमा देखिएको शालीनता, भद्रता र आत्मसजगता यस्तो सहज तरिकाले प्रकट भएको थियो, जसले कुनै विशेष प्रयास नगरीकनै मन छोइहाल्थ्यो।
शब्दहरूमा चर्को नारा थिएन, विचारहरूमा शक्ति प्रदर्शनको लोभ थिएन। थियो त केवल नेपाल र नेपालीपनप्रतिको गहिरो आत्मीयता। एउटा नवयुवकले राष्ट्रलाई हेर्ने दृष्टिकोण, स्मृति र सम्भावनाको पुल भएर प्रकट भएको थियो। हृदयेन्द्रको स्वर आत्मीय लाग्यो, दृष्टि परिपक्व, अनि भाव साँचो।
उनको भ्लगले दर्शक मात्र होइन, चिन्तक पनि बनायो। दृश्यहरूमा नेपालको माटोको गन्ध थियो, आवाजमा समर्पणको स्वर। यसले जनतालाई सजिलै आफूभित्र फर्केर सोच्न बाध्य बनायो—हामी कता गइरहेका छौं? हिजोका जरा कहिल्यै निर्मूल हुन सक्दैनन्, ती केवल ढाकिएर बसेका हुन्छन्—र जब कुनै न्यानो स्पर्श पाउँछन्, फेरि फक्रन थाल्छन्।
यस भ्लगले छोटो समयमा ठूलो चर्चा बटुल्यो। सामाजिक सञ्जाल सकारात्मक प्रतिक्रियाले रङ्गिन थाल्यो—कसैले आशा देखे, कसैले एक सम्भावना। तर जुनसुकै विवेचनाभित्र पनि एउटा साझा धरोहर भेटियो—हृदय छुने सादगी र देशप्रतिको मौन समर्पण।
यद्यपि, यति धेरै सकारात्मकता बीच केही कटु आवाजहरू पनि सुनिए। जुम्लाकी एक समानुपातिक सांसदद्वारा लेखिएको स्तरहीन टिप्पणीले आलोचनाको नयाँ लहर ल्यायो। उनको शब्दमा न त तर्कको गाम्भीर्य थियो, न आलोचनाको मर्यादा। त्यो त केवल राजनीतिक असुरक्षाको प्रतिच्छाया थियो, जसले उनको बोलीलाई अशोभनीय बनायो। उल्टै उनी नै जनमानसको आलोचना र उपहासको केन्द्र बनिन्।
के साँच्चै एउटा भिडियोले गणतन्त्रलाई चुनौती दिनसक्छ? कि नेताहरूको आफ्नै भविष्य अब अनिश्चित देखिन थालेको हो? देशप्रेमले राजनीति हल्लाउन थालेको हो कि राजनीतिले देशप्रेमबाट डराउन थालेको हो?
हृदयेन्द्र शाहको यो भ्लग केवल भिडियो मात्र होइन, एउटा मौन क्रान्तिको आह्वान हो। एउटा नयाँ पुस्ताको दृष्टिकोण हो, जसले बुझेको छ कि देशप्रेम हल्ला होइन, आत्मसाक्षात्कार हो…!
















