हेटौंडा, १५ साउन/
बागमती प्रदेश सरकारका नव नियुक्त तीनजना मन्त्रीहरूको आज (साउन १५ गते)का लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ।
बिहीबार दिउँसो १:०० बजे हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गर्न लागिएको शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्मा बिरामी परेपछि तत्कालका लागि रोकिएको हो। कार्यालयद्वारा जारी विज्ञप्तिमा उहाँ स्वास्थ्यमा आएको आकस्मिक समस्याका कारण बिहानीमै उपचारका लागि काठमाडौं जानुपरेको जनाइएको छ।
प्रदेश प्रमुखको अनुपस्थितिमा शपथग्रहण सम्भव नहुने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “माननीय प्रदेश प्रमुखज्यूको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”
शपथग्रहणको तयारी भइसकेको अवस्थामा कार्यक्रम स्थगन हुनुले प्रदेश सरकारभित्रको मन्त्रालयगत जिम्मेवारी बाँडफाँटमा पनि ढिलाइ हुन सक्ने देखिएको छ।
विज्ञप्ति प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले हस्ताक्षर गरी जारी गर्नुभएको हो।
हेर्नुहोस विज्ञप्ति


















