काठमाडौँ, १२ साउन ।
एसएसपी पदमा भएको बढुवा सिफारिसविरुद्ध वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेतले प्रहरी नियमावली, २०७१ को दफा ४२ बमोजिम औपचारिक उजुरी दर्ता गरेका छन्। गत ५ साउनमा बसेको बढुवा समितिको बैठकले ११ जना एसपीहरूको एसएसपी पदमा बढुवा सिफारिस गरेको थियो। तर बरियताक्रममा पहिलो नम्बरमा रहेका बस्नेत सूचीबाट बाहिरिएपछि असन्तुष्टि जनाउँदै उजुरी दिएका हुन्।
बस्नेत यस्ता अधिकृतमध्ये पर्छन्, जो लगातार बढुवाको दौडमा पछाडि पारिँदै आएका छन्। उनका ब्याचका अधिकांश अधिकृतहरू हाल डिआइजीको पदमा कार्यरत छन्। यसपटक फेरि पनि उनी बढुवाबाट छुटेपछि प्रहरी नियमअनुसार बढुवा उपर पुनरावलोकनको माग गर्दै उजुरी दिएका हुन्।
प्रहरी नियमावली अनुसार बढुवा सिफारिसविरुद्ध दर्ता हुने उजुरीको छिनोफानो लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा गठित समिति मार्फत हुने व्यवस्था छ। सो समितिमा मुख्यसचिव र कानून सचिव सदस्यका रूपमा रहने छन्। बस्नेतको उजुरी फस्र्यौट नभएसम्म बढुवा प्रक्रिया अगाडि नबढ्ने स्थिति बनेको छ।
यसको प्रत्यक्ष प्रभाव एसपी र डिएसपीस्तरका बढुवामा पनि परेको छ। ५ साउनकै बैठकमा ११ जना डिएसपीलाई एसपीमा र १३ जना प्रहरी निरीक्षकलाई डिएसपी पदमा बढुवा सिफारिस गरिएको थियो। एसएसपी बढुवा प्रक्रिया रोकिएसँगै अन्य तहका बढुवाहरू समेत अन्योलमा परेका छन्।
अब लोक सेवा आयोगअन्तर्गतको बढुवा उजुरी समिति बैठक बसेर निर्णय गरेपछि मात्र एसएसपी बढुवाको अन्तिम टुंगो लाग्नेछ। त्यसपछि मात्र अन्य तहका बढुवा कार्यान्वयनमा जान सक्नेछ।
















