२०८३ बैशाख १८ गते, शुक्रबार १३:०६

दुई जिल्लाका सीडीओ गृह मन्त्रालय तानिए

काठमाडौँ, १२ साउन/

गृह मन्त्रालयले सोमबार दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित चार जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले प्रशासनिक संरचनालाई थप चुस्त बनाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सरुवा प्रक्रिया अघि बढाएको हो।

सरुवा अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गृहमन्त्रालयमा फिर्ता बोलाइएको छ। उनको स्थानमा मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा. टोकराज पाण्डेलाई रुपन्देही पठाइएको छ।

यस्तै, सिन्धुपाल्चोकका सीडीओ किरण थापालाई पनि मन्त्रालयमा फिर्ता बोलाइएको छ। उनको स्थानमा सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार उक्त सरुवा नियमित प्रशासनिक प्रक्रिया अनुरूप गरिएको हो। जिल्ला प्रशासन कार्यालयहरूमा नेतृत्व परिवर्तनसँगै स्थानीय प्रशासनको कार्यक्षमता अभिवृद्धि हुने मन्त्रालयको विश्वास छ।

यसअघि पनि मन्त्रालयले आवश्यकतानुसार सीडीओहरूको सरुवा गर्दै आएको छ, जसबाट नीति कार्यान्वयन, शान्ति–सुरक्षा तथा जनसेवामा थप प्रभावकारिता आउने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM