काठमाडौं, ७ साउन/
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समकालीन विश्व परिप्रेक्ष्यमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिको प्रमुख माध्यमका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।
बुधबार राजधानीमा आयोजित अनररी कन्सुलर कोर नेपाल (HCC–N) को १८औं वार्षिक साधारणसभा तथा चार्टर डे समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले आर्थिक कूटनीति सुदृढ बनाउन तथा बहुआयामिक जनस्तर सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका निर्णायक हुने उल्लेख गरिन्।
“नेपाल र यहाँ प्रतिनिधित्व गरिएका मित्रराष्ट्रहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन, साथै आर्थिक, शैक्षिक, सांस्कृतिक र मानवीय क्षेत्रका सम्पर्कहरूलाई विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरू महत्वपूर्ण सेतु बन्न सक्नेछन्,” मन्त्री देउवाले भनिन्, “तपाईंहरूको योगदानका लागि म धन्यवाद ज्ञापन गर्न चाहन्छु।”
उनले कूटनीतिक सम्बन्ध मात्र नभई व्यापार, लगानी, शिक्षा तथा संस्कृति आदान–प्रदानजस्ता विषयमा पनि अवैतनिक वाणिज्यदूतहरूको भूमिकालाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिइन्।
उक्त कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिहरू, कूटनीतिज्ञ, व्यवसायी तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
















