धिरेन्द्र तिवारी/
वीरगंज, १२ असार । काठमाडौंबाट वीरगंज आउँदै गरेको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध चरेश फेला परेको छ भने पर्सा प्रहरीले चालकलाई पक्राउ गरेको छ।
प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकमा चरेश लोड गरेर ल्याइएको भन्ने सूचनाको आधारमा पर्सा प्रहरीको संयुक्त टोलीले वीरगंज महानगरपालिका २१ स्थित परवानीपुर चोकको सडकखण्डमा उक्त ट्रक फेला पारेको हो।
प्रहरी चौकी सिर्सिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ट्रकको चालक, ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा १३ वटा पोकामा राखिएको ३१९ किलो चरेश बरामद गरेको छ।
यसका साथै, चालक स्याङ्तानको कपडाको खल्तीबाट एक लाख बयानब्बे हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चालकलाई लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको पर्सा प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन्।
पर्सा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, उक्त ट्रकको सामान लोड गर्ने भागमा प्लास्टिकको बोराभित्र पोका बनाएर राखिएको अवस्थामा ३१९ किलो चरेश बरामद गरिएको हो। बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।
पक्राउ परेका चालक स्याङ्तानले प्रहरीलाई दिएको बयानमा चरेश धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगंजको ड्राइपोर्ट नाका हुँदै भारतमा पुर्याउने योजना रहेको बताएका छन्।
पर्सा प्रहरी अहिले चरेस र अन्य लागूऔषध तस्करीको सञ्जाल तोड्ने कार्यमा लागेको र यसैको परिणाम स्वरूप यति ठूलो मात्रामा चरेश बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
पर्सा प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान जारी राखेको जनाएको छ।